एनपीएल : आज जनकपुर र लुम्बिनी खेल्दै
काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स खेल्दैछन् ।
दुई टोलीबीचको खेल कीर्तिपुरको त्रिवि क्रिकेट रंगशालामा दिउँसो ४ बजे शुरू हुनेछ । रोहित पौडेलको कप्तानीमा रहको लुम्बिनी आज लिग चरणको अन्तिम खेल खेल्दैछ । लुम्बिनी अघिल्लो ६ खेलमध्ये ३ खेलमा जितेर प्लेअफ नजिक पुगेको छ । अंक तालिकामा ६ अंक जोडेको लुम्बिनीलाई आजको खेल जित्नै पर्ने दबाब छ ।
आजको खेल जितेको खण्डमा लुम्बिनीले प्लेअफमा स्थान सुरक्षित गर्नेछ । अघिल्लो संस्करणको विजेता जनकपुरको भने यसपटकको प्रदर्शन खराब छ । २ अंक सहित तालिकाको पुछारमा रहेको जनकपुरले अघिल्लो ५ मध्ये एउटा मात्रै खेल जितेको छ ।
अनिल साहको कप्तानी रहेको जनकपुरले आज आफ्नो छैटौं खेल खेल्दैछ । जनकपुरले आजको खेल जितेको खण्डमा प्लेअफ समीकरणमा अन्य खेलहरूमा निर्भर रहनेछ ।
