महाधिवेशनका लागी सर्वसम्मत रुपमा कार्यतालिका पारित गर्न देउवाको निर्देशन
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी पुस मसान्तमा महाधिवेशन गर्ने गरी पेस हुने कार्यतालिका सर्वसम्मत पारित गर्न निर्देशन दिएका छन् ।
देउवाले संस्थापन पक्षीय नेताहरूलाई यस्तो निर्देशन दिएका हुन् । २१ फागुनको चुनावअघि महाधिवेशन हुन नसक्ने अडानमा रहेका संस्थापन पक्षीय नेताहरूलाई सोमबार महाराजगञ्जस्थित निवासमा बोलाएर देउवाले यस्तो निर्देशन दिएको एक नेताले जानकारी दिए ।
आजै बस्ने केन्द्रीय कार्यसमिति बैठकमा देउवाको निर्देशनअनुसारको कार्यतालिका पेश हुँदैछ ।
‘सभापतिज्यूले कार्यतालिका सर्वसम्मत पास गर्नुस् । यसले विभाजनको कुरा रोक्छ भन्नुभयो,’ छलफलमा सहभागी एक नेताले भने, ‘हामीले आफ्ना कुरा राख्यौं । सभापतिले भनेपछि हामी सर्वसम्मत पास गरौं भनेर फर्कियौं ।’
यसअघि संस्थापन पक्षीय नेताहरू चुनाव अघि महाधिवेशन गर्न नहुने अडामा थिए । उनीहरूले आइतबार भेला गरेर सोमबारको बैठकमा पेस हुने कार्यतालिका फेल गर्ने तयारीसमेत गरेका थिए ।
