रुवाण्डाबाट सिक्नु पर्ने पाठ

१३ मंसिर २०८२ २२:४५
रुवाण्डाबाट सिक्नु पर्ने पाठ

जेन जी आन्दोलनपछि सबै अन्यौलमा छन् । अव के हुन्छ ? के देश बन्छ ? सबैको मनमा यी प्रश्नहरु छन् । जवाफ दिने कोही छैन् ।
देश त बर्बाद भयो । अव देश बन्दैन् । यसरी पनि देश बन्छ ? यस्तो सोचाई राख्नेको संख्या पनि उत्तिकै छ ।

तर सबैले बुझ्नु र जान्नु पर्ने कुरा के हो भने देश कुनै एउटा घट्नाले सकिने र बन्ने भन्ने हुदैन् । नेपालले भदौ तेस्रो साता जे बेहो¥यो, त्यो भन्दा भयानक अवस्थाबाट गुज्रिएका संसारका थुप्रै मुलुक, अहिले विकसित भईसकेका छन् । त्यो पनि छोटो अवधिमै ।

यहाँ म त्यस्तै एउटा देशका बारेमा चर्चा गर्दैछु । जसले ९० को दशकमा भयानक नरसंहार बेहो¥यो । त्यसका बाबजुद पनि त्यो देश दुई दशकमै अफ्रिकाको बिकसित देश कसरी बन्यो ? यहाँ म चर्चा गर्दैछु, त्यही रुवाण्डाको कथा ।

६ अप्रिल १९९४ रुवाण्डाका राष्ट्रपति जुबेनाल हाव्यारिमाना चढेको जहाज किगाली बिमानस्थलमा अवतरणका हुदै थियो । त्यहीबेला कसैले गोली हानेर जहाज खसालिदियो । हाव्यारिमानासंगै जहाजमा सवार बुरुण्डीका राष्ट्रपति साईप्रियन न्तार्यामिरा (जो ५ फेब्रुअरीमा राष्ट्रपति नियुक्त भएका थिए)को पनि मृत्यु भयो । १२ जना सवार जहाजमा बुरुण्डीका सञ्चार र योजना मन्त्री, रुवाण्डाका सेना प्रमुख जनरल डेओग्रासियास एनसाबिमाना पनि थिए, सबैको मृत्यु भयो ।

यो घट्नाको दोष तुत्सी जातीमाथि थोपरियो । र त्यही रातिबाट शुरुभयो, जातीय नरसंहार । अप्रिलदेखि जुलाईसम्म भएको नरसंहारमा १० लाख मान्छे मारिए । मारिने अधिकांश तुत्सी समुदायका व्यक्ति थिए । तुत्सीसंगै मात्र मारिएनन्, तुत्सीप्रति नरम र उदार मध्यमार्गी हुतु पनि मारिए । कतिसम्म भने श्रीमती तुत्सी समुदायको थिईन भने हुतुले आफ्नै श्रीमती मारे ।

यसअघि नै हुतुको दमन र अत्याचारका कारण थुप्रै तुत्सीहरु युगाण्डामा निर्वासित थिए । तिनै निर्वासित तुत्सीहरुले १९८७–८८ मा रुवाण्डन प्याट्रियोटिक फ्रण्ट(आरपीएफ) गठन गरेका थिए । १ अक्टोबर १९९० मा युगाण्डाबाट सशस्त्र संघर्ष शुरु गरेको आरपीएफमाथि जहाज खसालेको आरोप लगाएर हुतुहरुले तुत्सीहरुको नरसंहार गरेका थिए ।

त्यसको प्रतिकारमा उत्रिएका आरपीएफका कमाण्डर पाउल कागामेले जुलाईमा राजधानी किगाली कब्जा गरे । त्यसपछि मात्र नरसंहार रोकियो । त्योसंगै दमनकारी हुतुहरुको भागाभाग भयो ।

सत्ता कब्जा गरेपछि कागामे राष्ट्रपति भएनन् । उनले हुतु जातीका पाष्टुर बिसिमुंगुलाई राष्ट्रिय एकताको सरकारको प्रथम राष्ट्रपति बनाए । उनी उपराष्ट्रपति र रक्षामन्त्री भए । राष्ट्रिय पुनर्मिलन र स्थिरताका लागि उनले यो उदारता देखाएका थिए ।

तर विस्तारै बिसिमुंगुसंग कागामे सम्बन्ध बिग्रिदै गयो । कागामेसंगको शक्ति संघर्षका कारण सन २००० मा बिसिमुंगुले राजिनामा दिए । २२ अप्रिल २००० मा कागामे राष्ट्रपति भए । २००१ मा बिसिमुंगुलाई राज्य विरुद्धको अपराधमा १५ वर्षको जेल सजाय भयो ।

कागामे नेतृत्वको सरकारले संविधान निर्माण ग¥यो । बद्ला, घृणा र प्रतिशोधलाई संविधानले निषेध ग¥यो । त्यही संविधानले जातीय पहिचान हटायो । जातीय आधारमा हुने जनगणनालाई खारेज ग¥यो । नागरिक कार्डमा हुतु र तुत्सी लेख्न बन्द गरियो । सबैको कार्डमा एउटै परिचय लेख्न लगाईयो– रुवाण्डन । संविधानले भन्यो, देशभन्दा माथि कोही जाती छैन् । राष्ट्रियता बाहेक अर्को परिचय छैन् ।

संविधानमा उल्लेख गरियो, एक व्यक्ति दुई कार्यकाल राष्ट्रपनि हुन पाउनेछ । र, राष्ट्रपतिको एक कार्यकाल सात वर्षको हुनेछ । २५ अगष्ट २००३ मा पहिलो पटक राष्ट्रपतिय निर्वाचन भयो । कागामे अत्याधिक मत ल्याएर राष्ट्रपतिमा निर्वाचित भए । र, २००७ मा बिसिमुंगुलाई क्षमादान दिए ।
९ अगष्ट २०१० मा भएको निर्वाचनमा उनी दोस्रो पटक राष्ट्रपति पदमा निर्वाचित भए ।

भनिन्छ, कागामेको दोस्रो कार्यकाल २०१७ मा सकिदै थियो । उनले २०१५ मा राजनीतिबाट विश्राम लिने घोषणा गरे । कागामेको त्यो घोषणाप्रति असहमती जनाउदै लाखौ जनता सडकमा आए । र, उनीहरुले कागामेलाई आफ्नो घोषणा फिर्ता लिन आग्रह गरे । आम जनताको आग्रहपछि कागामेले राजनीतिमा रहीरहने निर्णय गरे । र, आन्दोलन फिर्ता भयो ।

उनी तुत्सी समुदायका भएपनि उनलाई सत्तामा रहिरहन आग्रह गर्ने अधिकांश हुतु जातीका थिए ।

त्यसपछि १८ डिसेम्बर २०१५ मा संविधान संशोधनका लागि जनमत संग्रह भयो । संविधान संशोधन गर्न जनमत संग्रहमार्फत आम जनताले सहमती दिए । जनमत संग्रहपछि संविधान संशोधन भयो । र, उनलाई तेस्रो कार्यकालका लागि राष्ट्रपति हुने बाटो खुला ग¥यो । उनलाई तेस्रो कार्यकाल राष्ट्रपति बन्ने बाटो मात्र खुला गरेन, उनलाई सात वर्ष राष्ट्रपति बन्न पाउने सुविधा दिएको संविधानले अन्यको हकमा त्यो अवधि पाँच वर्षमा सिमित ग¥यो । आर्टिकल १७२ ले उनलाई यो सुविधा दिएको थियो ।

संविधान संशोधनको दुई वर्षपछि ४ अगष्ट २०१७ मा भएको निर्वाचनबाट उनी तेस्रो कार्यकालका लागि राष्ट्रपति पदमा निर्वाचित भए । त्यसको सात वर्षपछि १५ जुलाई २०२४ मा भएको निर्वाचनमा उनले ९९.१८ प्रतिशत मत ल्याए । र, ११ अगष्ट २०२४ मा चौथौ कार्यकालका लागि उनले राष्ट्रपतिको शपथ लिए । उनका हकमा कायम भएको संबैधानिक व्यवस्था अनुसार उनी २०३४ सम्म राष्ट्रपति हुन पाउनेछन् ।

१९९४ को नरसंहारपछि सत्तामा आएका कागामे यतिबेला पनि रुवाण्डाको नेतृत्व गरिरहेका छन् । यो तीन दशकमा रुवाण्डामा भएको आर्थिक कायापलटको श्रेय उनैलाई जान्छ ।

१९९४ मा करीव ७० लाख जनसंख्या रहेको रुवाण्डामा त्यतिबेला हुतु ८५ प्रतिशत, तुत्सी १४ प्रतिशत र तावा एक प्रतिशत थिए । २०२५ मा रुवाण्डाको जनसंख्या एक करोड ४७ लाख १४ हजार ८ सय पुग्यो । तर जातीय संख्या र प्रतिशत भने खुलेको छैन् ।

देश भनेको भूगोल मात्र होईन, त्यो भूगोल भित्रको बिबिधता पनि हो । भाषा, धर्म, बर्ग, जातीय बिबिधता बिना समाजको निर्माण संभव छैन भने देश त त्यस्ता हजारौ समाज मिलेर बन्छ । एकल जातीय वा भाषिक र धर्मका आधारमा अलग देश बनाउनेहरु पनि टुक्रा टुक्रा भएका छन् । यस्तो संकिर्ण र अतिवादी सोचले भारतबाट पाकिस्तान अलग भयो । जहाँ अलग हुने आधार धर्म थियो । त्यही पाकिस्तानबाट भाषाका आधारमा बंगलादेश बन्यो । अर्थात टुक्रिनलाई बहाना काफि छ । तर सिंगो देश बन्न त सामूहिक भावना चाहिन्छ । कागामेको त्यही भावनाले रुवाण्डालाई अढाई दशकमा अफ्रिकाको समृद्ध मुलुक बनायो ।

सत्ताको नेतृत्व गर्ने व्यक्ति ईमान्दार भए बाँकी त त्यसै ईमान्दार हुन्छन् । त्यसको उदाहरण कागामे हुन् । नेपालीहरुले यो रुवाण्डाबाट सिक्नु पर्ने पाठ हो ।

जातीय नरसंहारले थिलथिलो भएको रुवाण्डाले कागामेको कुशल नेतृत्वमा छोटो समयमै विकासमा फड्को मा¥यो ।
देशको नेतृत्व गर्ने व्यक्तिसंग सपनासंगै दूरदृष्टि हुन् जति आवश्यक छ । त्यति नै आवश्यक छ, त्यो सपना पुरा गर्ने दृढईच्छाशक्ति । कागामेसंगै यो सबै थियो ।

उनले पर्यटन, सेवा क्षेत्र, सूचना प्रविधि, कृषि र बैदेशिक लगानीमा जोड दिए । २०२४ मा रुवाण्डामा १३ लाख ६० हजार विदेशी पर्यटक भित्रिए । जसबाट रुवाण्डाले ६४७ मिलियन अमेरिकी डलर राजस्व आर्जन ग¥यो ।

सेवा क्षेत्र रुवाण्डाको आम्दानीको मुख्य आधार हो । २०२४ को राष्ट्रिय जीडीपी अनुसार, सेवा क्षेत्रले कूल जीडीपीको ४८ प्रतिशत हिस्सा ओगटेको थियो । यो वर्ष जीडीपीमा कृषिको योगदान २५ प्रतिशत थियो । सोही अवधिमा उद्योग/निर्माणले २१ प्रतिशत हिस्सा ओगटेको थियो ।
विभिन्न वस्तुहरुको निर्यातले समेत रुवाण्डाको अर्थतन्त्रमा योगदान पु¥याएको छ ।

विदेशी लगानी आकर्षित गर्न सक्रिय र सुधारमुखी नीति अपनाएको रुवाण्डामा कुनै पनि उद्योग छ घण्टाभित्र दर्ता गरिसक्नु पर्ने नीति छ । उद्योग दर्ता गर्न ढिलाई गरेको पाईएमा त्यस्ता कर्मचारीलाई हदैसम्मको कारबाही हुन्छ । सबै कागजात सहित आवेदन दिएको खण्डमा ४५ मिनेटदेखि एक घण्टाभित्र उद्योग दर्ता गरिसक्नु पर्ने प्रावधान छ । विश्व बैंकको रिपोर्टले समेत रुवाण्डालाई उद्योग मैत्री वातावरण भएको देखाउछ ।

राजधानी किगाली अफ्रिकाकै स्वच्छ, सफा र व्यवस्थित शहर मानिन्छ । रुवाण्डा सुरक्षित र कम अपराध दर कम भएको अफ्रिकी मुलुकका रुपमा चिनिन्छ । रुवाण्डाको पर्खाल रहित पर्यटन(गुरिल्ला टे«किङ) विश्व प्रसिद्ध छ । रुवाण्डामा गुरिल्ला टे«ल पर्यटक आकर्षणको केन्द्र बनेको छ । युद्धकालमा आरपीएफले प्रयोग गरेको मार्गलाई रुवाण्डाले आम्दानीको आधार बनाएको छ । युद्धको सौन्दर्यकरण गर्न हुदैन् । तर त्यसको ईतिहासलाई बजारीकरण गर्न सके आम्दानीको आधार भने बनाउन सकिन्छ । त्यसको उदाहरण हो, रुवाण्डा । नेपालका लागि पनि यो पाठ हुन सक्छ ।

प्रतिशोध, घृणा र बदलाको भावनाले देश बन्दैन् । अरुलाई निषेध गरेर त निम्तिने द्वन्द्व मात्र हो । विकास र समृद्धिका लागि सहकार्य, सहअस्तित्व र सुशासन आवश्यक छ । जेन जी आन्दोलनपछि देश बन्छ कि बन्दैन ? भन्नेहरुले यति बुझे पुग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस