धनगढीमा युवा संघको कुटपिटबाट जेनजी समूहका एक जना घाइते
धनगढी : धनगढीमा एमालेनिकट राष्ट्रिय युवा संघ र जेनजी समूहबीच तनाव भएको छ। जागरण सभाका लागि मोटरसाइकल र्यालीसहित प्रदर्शन गरेका युवा संघका कार्यकर्ता र त्यसको विरोध गरिरहेका जेनजी समूहबीच तनाव भएको हो।
युवा संघले धनगढीमा आयोजना गरेको जागरण सभामा सहभागी हुन एमाले पोलिटब्युरो सदस्य महेश बस्नेत सहभागी भएका थिए। बस्नेत सहभागी हुने भएपछि जेनजी युवाहरू सडकको बायाँतर्फ उभिएर विरोध प्रदर्शन गरिरहेका थिए।
सडकमा शान्तिपूर्ण विरोध गरिरहेका जेनजी अगुवालाई युवा संघका कार्यकर्ताले कुटपिट गरेका हुन्। कुटपिटबाट धनगढीकी जेनजी अगुवा सरिता जोशी घाइते भएकी छन्। उनको निसर्ग अस्पतालमा उपचार भइरहेको छ।
मोटरसाइकल र्यालीसहित आएका युवा संघका कार्यकर्ताहरूले जेनजी अगुवाहरूलाई आक्रमण प्रयास गरेका थिए। ठूलो संख्यामा रहेका सशस्त्र र नेपाल प्रहरीहरूले युवा संघका कार्यकर्तालाई रोकेका थिए।
एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले कार्यक्रम स्थलतर्फ आउँदा सडक अवरूद्ध गर्न केही व्यक्ति आएपछि युवाहरूले प्रतिरोध गरेको बताएका छन्।
‘राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको सुदूरपश्चिम प्रदेशको युवा जागरण अभियानमा जाँदा जेनजीको नाममा प्लाकार्ड देखाउन युवाहरूप्रति कुनै आपत्ति थिएन। तर कार्यक्रम स्थलतर्फ आउँदा सडक अवरूद्ध गर्न केही व्यक्ति आएपछि युवाहरूले प्रतिरोध गरेर सडक खाली गरेपछि तिनीहरू हटेका छन्। प्रहरी प्रशासनलाई धन्यवाद दिनैपर्छ। उनीहरूले देखाएको उच्च सतर्कता र जिम्मेवार भूमिकाले आजसम्म कुनै पनि अप्रिय घटना हुन दिएको छैन,’ उनले भनेका छन्।
