कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला आज

द एभरेष्ट पोष्ट
११ मंसिर २०८२ ७:२०
कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला आज

काठमाडाैं १० मङ्सिर । कांग्रेसमा विशेष महाधिवेशनका लागि ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर बुझाएको समूहले बुधबार विशेष सभा आयोजना गर्दै छ । देशैभरिबाट आएका महाधिवेशन प्रतिनिधि र नेताहरूको सहभागितामा काठमाडौंको राष्ट्रिय सभागृहमा हुने सभाले विशेष महाधिवेशनको मिति तोक्न केन्द्रीय कार्यसमितिलाई ‘अल्टिमेटम’ दिनेछ । केन्द्रीय कार्यसमिति बैठक बिहीबार बस्दै छ ।

‘अब फागुन २१ को निर्वाचनभन्दा अघि पार्टीको नियमित महाधिवेशन हुने सम्भावना निकै कम छ । अब पार्टी विधानअनुसार विधिवत् रूपमा विशेष महाधिवेशनको मिति तोक्न निर्णायक रूपमा दबाब दिन विशेष सभा बोलाइएको हो,’ विशेष महाधिवेशन पक्षधर अगुवा युवा नेता बलदेव तिमल्सिनाले नयाँ पत्रिकासँग भने, ‘केन्द्रीय कार्यसमिति बैठकबाट विशेष महाधिवेशनबारे निर्णय लिन हामीले दबाब दिन लागेका हौँ । विधानत: हामीले माग गरेका छौँ, विशेष महाधिवेशन नगरी उपाय नै छैन ।’

बुधबारको विशेष सभाले केन्द्रीय समितिलाई महाधिवेशनका लागि निर्णय गर्न दबाब पुग्ने उनीहरूको विश्वास छ । कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै २९ असोजमा केन्द्रीय कार्यालयमा हस्ताक्षरसहितको निवेदन दर्ता गरिसकेका छन् । कांग्रेसका महामन्त्रीद्वय पनि विशेष महाधिवेशनकै पक्षमा छन् । तर, उनीहरू बुधबारको भेलामा सहभागी हुने छैनन् ।

विशेष महाधिवेशन पक्षधर नेता गुरुराज घिमिरेको अगुवाइमा आयोजना भएको विशेष सभामा सम्बोधनका लागि नेताहरू महेश आचार्य, नरहरि आचार्य, तारानाथ रानाभाट, बलदेव शर्मा मजगैया, सुनील भण्डारीलगायतलाई बोलाइएको छ । उनीहरूले विश्लेषक कृष्ण खनाल, हरि शर्मा र अरुणकुमार सुवेदीलाई पनि सम्बोधनका लागि बोलाएका छन् ।

यसअघि मंगलबार विशेष महाधिवेशन पक्षधर नेताहरूले काठमाडौं उपत्यकाका नेताहरू, बागमती प्रदेशअन्तर्गतका जिल्ला एवं क्षेत्रीय सभापतिहरू, भ्रातृ तथा शुभेच्छुक संस्थाका नेताहरूसँग अलगअलग छलफल गरेका थिए ।

वरिष्ठतम् उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकेर घर बसेका सभापति शेरबहादुर देउवाको हस्ताक्षरमा निर्वाचन आयोगमा आइतबार पार्टी दर्ताको निवेदन दिएपछि कांग्रेसमा थप विवाद चर्केको छ । महामन्त्री गगन थापाले त विशेष महाविधेशन अब निर्विकल्प भनेका छन् ।

हस्ताक्षर बुझाएको मितिअनुसार केन्द्रीय समितिले विशेष महाधिवेशनको मिति पुस मसान्तभित्र बोलाउनैपर्ने बाध्यात्मक अवस्था छ । कांग्रेस विधानको दफा १७ (२) मा लेखिएको छ, ‘केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्रसमक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्नेछ ।’

यसैका आधारमा केन्द्रीय समितिले नबोलाए लिन सकिने अन्य विकल्पबारे विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएका प्रतिनिधिहरूले छलफल थालेका छन् । नेताहरूका अनुसार सर्वोच्च अदालतमा रिट दिनेदेखि निर्वाचन आयोगमा निवेदन दर्ता गराउनेसम्मको विकल्पमा छलफल भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस