ईश्वर पोखरेलले एमाले अध्यक्षमा उम्मेदवारी घोषणा गरे
काठ्माण्डौ- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। मंगलबार एक वक्तव्य जारी गर्दै पोखरेलले एमालेको केन्द्रीय अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्। अहिले साँझ नै उनले पत्रकार सम्मेलन पनि गर्दै छन्।
एमालेको ११ औँ महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदै छ। यही महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओलीले पनि आफू फेरि नेतृत्वमा रहिरहने मनसाय देखाएका छन्। ओलीलाई टक्कर दिन पोखरेल मैदानमा ओर्लिन लागेका हुन्।
‘पार्टी पुनर्गठन र रूपान्तरणका लागि देशभरिका साथीहरूले गर्नुभएको आग्रह र सुझावलाई स्वीकार गरेर अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको हुँ,’ वक्तव्यमा पोखरेलले भनेका छन्।
उनले उम्मेदवारी घोषणा गर्दा ‘पार्टीका कमरेडहरूको योग्यता, क्षमता र रुचि अनुसार जिम्मेवारी प्रदान गर्दै सामूहिक नेतृत्व र पहलमार्फत नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गर्न’ आफू प्रतिबद्ध रहेको बताएका छन्। ‘पार्टीको आन्तरिक लोकतन्त्र सम्बन्धी आफैले अघि सारेका मान्यतालाई सम्मान गर्दै पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका निर्वाह गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु,’ पोखरेलले वक्तव्यमा भनेका छन्, ‘अभिभावकीय भूमिकामार्फत सहज निकासका लागि पार्टी अध्यक्ष कमरेडलाई अनुरोध गर्दछु।’
