लुम्बिनी लायन्सविरुद्ध काठमाडौं गोर्खाजले पहिला ब्याटिङ गर्ने
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको खेलमा लुम्बिनी लायन्सविरुद्ध काठमाडौं गोर्खाजले पहिला ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर लुम्बिनीले पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो ।
लुम्बिनीलाई हराउँदै काठमाडौं दोस्रो जित निकाल्ने लक्ष्यमा छ । काठमाडौंले यसअघिका तीन खेलमा एक मात्रै जित निकालेको छ । जनकपुर बोल्ट्सँग जितेको काठमाडौंले सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ससँग हारेको थियो ।
काठमाडौंलाई हराउँदै लुम्बिनीले दोस्रो जित निकाल्ने दाउमा छ । लुम्बिनीले यसअघिको दुई खेलमा एक हार र एक जित निकालेको थियो । लुम्बिनीले कर्णाली याक्ससँग हारेको थियो भने चितवन राइनोजसँग जितेको थियो ।
