गरिबी रहेसम्म महिलामाथिको हिंसा अन्त्य हुँदैन: प्रधानमन्त्री कार्की

द एभरेष्ट पोष्ट
१० मंसिर २०८२ १२:२१
गरिबी रहेसम्म महिलामाथिको हिंसा अन्त्य हुँदैन: प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले गरिबी अन्त्य नगरेसम्म महिला हिंसा अन्त्य नहुने बताएकी छन् ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रमबीच लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ गर्दै प्रधानमन्त्री कार्कीले महिला हिंसा अन्त्यको लागि पहिले गरिबी अन्त्य गर्नु पर्ने बताएकी हुन् ।

‘गरिबी रहँदासम्म समानता हुँदैन । खान छैन भने घरमा के को समानता?’ उनले भनिन्, ‘पहिले गरिबी हटाउनुपर्‍यो । रोजगारी सिजर्ना गर्नुपर्‍यो । महिलाले पनि रोजगारी गर्न पाउनु पर्‍यो । त्यसपछि मात्र हिंसाको अन्त्य हुन्छ, समानता आउँछ ।’

मुलुकमा बेरोजगारीको अवस्था भयावह रहेकाले महिलाहरू रोजगारी खोज्दै विदेश जानु परिरहेको बताएका प्रधानमन्त्रीले भनिन्, ‘रोजगारी खोज्दै विदेशमा गएर महिलाहरू हिंसाले प्रताडित हुनुपरेको छ । यसको अन्त्य हुनु पर्‍यो ।’

गरिबी हटाउन भ्रष्टाचारको अन्त्य गर्नुपर्ने र सुशासन ल्याउनुपर्ने उनको भनाइ छ । प्रधानमन्त्री कार्कीले आफू सरकारमा आएयता नियुक्तिहरूमा महिलालाई प्राथमिकता दिएको बताइन् । तर, महिलालाई नियुक्ति गर्ने भन्दैमा वर्षौंसम्म मेहनत गरेका पुरुष पहिलो नम्बरमा भए तिनलाई अवसरबाट बञ्चित नगरिने उनले बताइन् ।

‘मैले सरकारमा आएपछि नियुक्ति गर्दा महिला खोज्ने गरेको छु । तर, वर्षौंसम्म मेहनत गरेका पुरुष पहिलो नम्बरमा छन भने तिनलाई अवसर नदिने कुरा पनि भएन,’ उनले भनिन्, ‘तर, जहाँ महिलालाई अग्रणी भागमा ल्याउन सकिन्छ, त्यहाँ महिलालाई ल्याउने गरेका छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस