दीपेन्द्र चम्किएपछि सुदूरपश्चिमको लगातार तेस्रो जित, कर्णालीको न्यून स्कोर
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्समाथि ४५ रनको जित हात पारेको छ ।
त्रिवि मैदान कीर्तिपुरमा भएको दोस्रो खेलमा टस हारेको सुदूरपश्चिमले पहिला ब्याटिङ गरी १३९ रन बनाएको थियो । जवाफमा कर्णाली ९४ रनमा अलआउट भयो । यो सिजनमा सयभन्दा कम रन बनाउने कर्णाली पहिलो टिम बनेको छ ।
लगातार तेस्रो जित हात पारेसँगै सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसको ६ अंक भएको छ । विराटनगर किंग्सले पनि आजको पहिलो खेलमा जनकपुर बोल्ट्समाथि जित हात पार्दै अपराजित यात्रा कायम राखेको थियो । विराटनगर पनि लगातार तेस्रो जितका साथ ६ अंकसहित दोस्रो स्थानमा छ ।
त्रिवि मैदान कीर्तिपुरमा सुदूरलाई दोस्रो जित दिलाउन कप्तान दीपेन्द्रसिंह ऐरीले अलराउन्ड प्रदर्शन गरे । उनले टिमका लागि सर्वाधिक ३९ रन बनाएका थिए । बलिङमा पनि उनी चम्किए । उनले चार ओभरमा ४ विकेट लिएर कर्णालीको ब्याटिङ लाइन ध्वस्त पारेका थिए ।
कर्णालीका लागि कुनै पनि ब्याटर टिकेर खेल्न सकेनन् । कर्णालीको तेस्रो खेलमा यो दोस्रो हार हो । कर्णालीको अंक तालिकामा २ अंक मात्र छ ।
मंगलबार एक मात्र खेल हुनेछ । भोलि काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुनेछ । काठमान्डु लगातार दुई खेलमा पराजित भएको छ भने लुम्बिनी पनि एक खेलमा पराजित भएको छ ।
