फिल्म ‘परान’ को कमाइ नाघ्यो १४ करोड
काठ्माण्डौँ- नीर शाह अभिनीत फिल्म ‘परान’ ले बक्स अफिसमा १४ करोड रूपैयाँभन्दा बढीको ग्रस कमाइ गरेको छ।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको आधिकारिक तथ्यांक अनुसार फिल्मले मंसिर ६ गते (शनिबार) सम्ममा १४ करोड १६ लाख ५१ हजार रूपैयाँ ग्रस कलेक्सन गरेको हो।
बोर्डको तथ्यांक अनुसार यस अवधिमा फिल्मको करिब ५ लाख टिकट बिक्री भएका छन्।
दीपक आचार्य (काकु) निर्देशित ‘परान’ ले प्रदर्शनको सुरूआती चरणमा दर्शकको उल्लेख्य साथ पाएको थिएन। यद्यपि, बलियो ‘वर्ड अफ माउथ’ का कारण फिल्मले विस्तारै गति लिँदै बक्स अफिसमा राम्रो पकड जमाउन सफल भयो।
यो कमाइसँगै ‘परान’ वर्ष २०८२ को हालसम्मकै सर्वाधिक कमाइ गर्ने फिल्म समेत बनेको छ।
शेखर गोल्छा र रञ्जित आचार्य निर्माता रहेको यस फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, महेश त्रिपाठी, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, प्रवीण खतिवडा लगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ।
