कैलालीमा ‘सर्च तथा स्वीप अपरेसन’ : एक सातामा १४९ जना फरार प्रतिवादी पक्राउ
कैलाली । जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका प्रहरी इकाइहरूले मंसिर १ गतेदेखि ७ गतेसम्म सञ्चालन गरेको सर्च तथा स्वीप अपरेसनमार्फत एक सातामा १४९ जना फरार प्रतिवादी पक्राउ गरेका छन्।
प्रहरीका अनुसार विभिन्न मितिमा जिल्ला अदालत कैलालीले सुनाएको फैसलाअनुरूप कैद तथा जरिवाना तिर्न बाँकी राखी फरार रहेका प्रतिवादीहरूलाई खोजतलास गर्न अपरेसन सञ्चालन गरिएको हो। पक्राउ पर्नेमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट ६८ जना, इलाका प्रहरी कार्यालय मालाखेतीबाट २५ जना, इप्रका टीकापुरबाट २२ जना र इप्रका भजनीबाट १० जना पक्राउ परेका हुन । यस्तै इप्रका सुखडले ९ जना, इप्रका सडकपुरले ७ जना, इप्रका लम्कीले ६ जना र इप्रका चिसापानीले पनि २ जनालाई पक्राउ गरेको हो ।
जिल्लाभरबाट पक्राउ परेका सबै प्रतिवादीलाई आवश्यक कारबाहीका लागि अदालत पठाएको जिल्ला प्रहरी कार्यालय कैलालीका सुचनाअधिकारी तथा प्रहरी नायव उपरीक्षक राजकुमार सिंहले जानकारी दिए । उनका अनुसार फरार प्रतिवादी पक्राउ अभियान निरन्तर रूपमा अघि बढाइनेछ।
अदालतका फैसलाहरू समयमै कार्यान्वयन गराउन प्रहरीले यो अभियान सुरु गरेको हो ।
