८ औं एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड कोलोराडोमा आज सम्पन्न हुदै
कोलोराडो, (अमेरिका), २३ नोभेम्बर ।
८ औं एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड २०२५ आज अमेरिकाको कोलोराडो राज्यको बोल्डर शहरमा आयोजना हुदैछ ।
अवार्ड समारोहमा सहभागी हुन कोलोराडो आईपुगेका सम्पूर्ण अतिथि कलाकारहरुको उपस्थितिमा शनिवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै आयोजक संस्था ग्लोबल नेपाली फिल्म अवार्ड यूएसएका अध्यक्ष नवराज श्रेष्ठले अवार्डको सम्पूर्ण तयारी पुरा भईसकेको जानकारी दिए ।
अवार्ड समारोह भव्य रुपमा आयोजना गर्न लागिएको जानकारी गर्दै श्रेष्ठले नेपालबाट आएका कलाकारहरुले दर्शकहरुलाई भरपुर सांस्कृतिक मनोरञ्जन प्रदान गर्ने बताए ।
अवार्ड आयोजक नेपाल फिल्म सोसाइटीका अध्यक्ष वरिष्ठ कलाकार कृष्ण मल्लले नेपाली चलचित्र क्षेत्रमा योगदान पुर्याउने कलाकारहरुको सम्मान र प्रवासमा नेपाली चलचित्रको प्रचार प्रसारका लागि अवार्ड आयोजना गर्दै आएको जानकारी दिए ।
पत्रकार भेटघाट कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, वरिष्ठ अभिनेता निर शाह, वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, चर्चित हास्य कलाकार बसुन्धरा भुषाल, केदार घिमीरे (माग्ने बुढा), नेपाल फिल्म सोसाइटीका अध्यक्ष वरिष्ठ कलाकार कृष्ण मल्ल, नायक प्रदिप खड्का, दिलिप रायमाझी, नायिका शर्मिला मल्ल, केकी अधिकारी, ऋचा घिमिरे, गरिमा शर्मा, दिब्या रायमाझी, चरित्र अभिनेता रामचन्द्र अधिकारी, चलचित्र निर्माता मधुकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
बोल्डर थिएटरमा आईतवार साँझ ४ बजे शुरु हुने अवार्ड समारोह बिभिन्न कलाकारको प्रस्तुती र चलचित्रकर्मीहरुलाई अवार्ड प्रदान गर्दै सम्पन्न हुनेछ ।
नेपाल फिल्म सोसाइटी नेपाल, ग्लोबल नेपाली फिल्म अवार्ड यूएसए, हेल्पिङ ह्याण्ड्स हेल्थ एजुकेशन र फिलिप हार्मोनी अर्केष्ट्रा बोल्डरको संयुक्त आयोजनामा अवार्ड कार्यक्रम हुन लागेको हो ।
