सुदूरपश्चिममा नयाँ मतदाता संख्या उत्साहाजनक

द एभरेष्ट पोष्ट
८ मंसिर २०८२ १४:५१
सुदूरपश्चिममा नयाँ मतदाता संख्या उत्साहाजनक

धनगढी । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारीसँगै सुदूरपश्चिम प्रदेशमा नयाँ मतदाता दर्ता प्रक्रिया निकै उत्साहजनक बनेको छ । प्रदेशका नौ जिल्लाबाट कुल ४६ हजार २० जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

यि मध्य अनलाइनबाट २९ हजार ४३९ र निर्वाचन कार्यालयमै उपस्थित भएर १६ हजार ५८१ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन ।

प्रदेशको जिल्लागत विवरण हेर्दा कैलालीमा १८ हजार २१३, कञ्चनपुरका १२ हजार २९१, बैतडीमा २ हजार ६५२ र दार्चुलामा २ हजार ६२८ नयाँ मतदाता थपिएका छन् । यस्तै डडेलधुरामा १ हजार ८९२, बझाङमा २ हजार ३४५, अछाममा २ हजार ६०४, डोटीमा १ हजार ८७८ र बाजुरामा १ हजार ५१७ गरी जम्मा ४६ हजार २० नयाँ मतदाता थपिएका हुन ।  विवरणअनुसार सबैभन्दा धेरै मतदाता कैलाली, कञ्चनपुर र बैतडी जिल्लाबाट थपिएको देखिन्छ ।

यो सँगै सुदूरपश्चिम कुल मतदाता सङ्ख्या १७ लाख १५ हजार ४३१ पुगेको छ । ०७९ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा प्रदेशको कुल मतदाता सङ्ख्या १६ लाख ६९ हजार ४११ रहेको थियो ।

सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले नयाँ दर्ता भएका मध्ये युवा उमेर समूहको सङ्ख्या सबैभन्दा धेरै रहेको जानकारी दिए । ‘सुदूरपश्चिममा नयाँ मतदाता उत्साहजनक तरिकाले थपिए । युवाहरू निर्वाचनका लागि झन् उत्साहित छन्,’ उनले भने ।

उनका अनुसार निर्वाचन कार्यालयमा सङ्कलित नामावली रुजु गर्ने काम चलिरहेको छ । सँगै प्रदेशभर निर्वाचनको तयारी पनि तीव्र गतिमा अगाडि बढाइएको छ ।

‘सङ्कलित नामावली रुजु गर्ने, मतदाता सूची अद्यावधिक गर्ने तथा मतदान सामग्री व्यवस्थापन गर्ने काम निरन्तर चलिरहेको छ, आगामी निर्वाचनलाई व्यवस्थित बनाउन हामी पूर्ण रूपमा सक्रिय छौँ,’ भट्टले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस