कैलालीको जानकी गाउँपालिकाको महेन्द्र शिशु माविमा पुस्तकालय स्थापनामा सहयोग जुट्दै
धनगढी, ६ मंसिर ।
कैलाली जिल्लाको जानकी गाउँपालिकाको धर्मापुर स्थित महेन्द्र शिशु माध्यमिक बिद्यालयमा आधुनिक पुस्तकालय (ई लाईब्रेरी) स्थापनाका लागि विभिन्न संघसंस्था र मनकारी व्यक्तिहरुले सहयोग गरेका छन् ।
पुस्तकालय स्थापनाका लागि युगान्डाका लागि नेपालका अवैतनिक वाणिज्यदूत डा. सुधीर रुपारेलियले द रुपारेलिया फाउन्डेसन मार्फत ५००० डलर (सात लाख पाँच हजार रुपैया सहयोग गरेका छन् ।
त्यस्तै डाङ्गोटे सिमेन्ट लिमिटेड नाइजेरियाका डिभिजनल लजेष्टिक डाइरेक्टर कर्णेल हेमन्त राणाले सय डलर ( चौध हजार दुई सय रुपैया) र हाल जापानमा बस्ने खैरीफाँटाका युवा समाजसेवी देवेन्द्र कठायतले पाँच हजार एक सय रुपैया सहयोग गरेका छन् ।
गगन फाउन्डेसनले जानकी गाउँपालिका दुर्गौलीको समन्वय र नेपाल लाइब्रेरी फाउन्डेसनको प्राविधिक व्यवस्थापनमा २०२६ को जनवरी महिनाभित्र पुस्तकालय स्थापना गर्ने अभियानको संयोजन गरेको छ ।
गगन फाउण्डेसनका अध्यक्ष तथा गैर आवासीय नेपाली संघका पूर्व कोषाध्यक्ष हिक्मत थापाको अगुवाईमा यसअघि २०८० र २०८१ मा अरुणोदय माध्यमिक विद्यालय खैरीफाँटा र वीरेन्द्र विद्या मन्दिरमा आधुनिक पुस्तकालय स्थापना गरिएको थियो ।
मनकारी व्यक्तिहरु र विभिन्न संघसंस्थाको सहयोगमा ती दुई विद्यालयमा पुस्तकालय स्थापना गर्ने अभियानमा रुपारेलिया फाउन्डेसनको मुख्य सहयोगी रहेको थियो ।
थापाले महेन्द्र शिशु माविमा पुस्तकालय स्थापनामा १० लाख रुपैया खर्च हुने अनुमान गरेका छन् । उनले पुस्तकालय स्थापनामा सहयोग गर्न सबैसंग आग्रह गरेका छन् ।
