एमाले अध्यक्षमा उठ्ने ईश्वर पोखरेलको घोषणा
एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । महाधिवेशन तयारीबारे छलफलका लागि बिहीबार पार्टी कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकमा उनले अध्यक्षको उम्मेदवार बन्ने अध्यक्ष केपी ओलीसहित नेताहरूलाई औपचारिक जानकारी गराएका हुन् ।
दुई कार्यकाल महासचिव, एक कार्यकाल वरिष्ठ उपाध्यक्ष रहेका पोखरेल ०३२ मा स्थापित कोअर्डिनेसन केन्द्रको संस्थापक सदस्य हुँँदै करिब ५० वर्षदेखि लगातार केन्द्रीय कमिटीमा छन् । बैठकमा उनले अध्यक्ष ओलीले तेस्रो कार्यकाल पनि नेतृत्व लिँदा पार्टी कमजोर बन्ने जिकिर गर्दै औपचारिक रूपमा बिदा लिएर सर्वसम्मत अध्यक्ष बनाउने काममा सहयोग गर्न ध्यानाकर्षणसहित आग्रह गरे ।
‘तपाईंको कार्यशैली, अभिव्यक्ति र व्यवहारले पार्टीलाई घाटा भइरहेको छ, अब बिदा लिनु नै राम्रो हुन्छ । अब म पार्टी चलाउँछु, तपाईं सहयोग गर्नुस् । तैपनि बिदा हुनुभएन भने एघारौँ महाधिवेशनमा प्रतिस्पर्धा गर्छु,’ पोखरेलको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले नयाँ पत्रिकासँग भने । पोखरेलले एमालेको अध्यक्ष लिने योजनाबारे लामै पृष्ठभूमिसहित ओलीको असफलतामाथि प्रहारसमेत गरेका थिए ।
जवाफमा ओलीले भने अहिले राष्ट्र र पार्टीको आवश्यकताले गर्दा फेरि पनि अध्यक्ष बन्नुपर्ने अवस्था रहेको भन्दै सर्वसम्मतिको अवस्था नबने स्वस्थ प्रतिस्पर्धालाई भने आफूले अन्यथा ढंगले नलिने बताएका थिए । यद्यपि, उनले पार्टीभित्र अध्यक्षमा प्रतिस्पर्धा हुँदा पराजित भएर पनि पार्टी बचाउन एकताबद्ध बनाएर अघि बढाउन आफूले मात्र योगदान गरेको दृष्टान्त प्रस्तुत गर्दै केही गरी नेतृत्वमा पराजित भएको अवस्थामा माधव नेपाल र भीम रावलले जस्तो पार्टीमै नरहने अवस्था नआओस् भन्दै सचेततापूर्वक स्वस्थ प्रतिस्पर्धामा भाग लिन ध्यानाकर्षण गराएका थिए ।
उपमहासचिव प्रदीप ज्ञवालीले भने बैठकमा कसैले पनि अध्यक्षको उम्मेदवार बन्ने घोषणा नगरेको बताए । यद्यपि, उनले अध्यक्ष ओलीले महाधिवेशनको नेतृत्व सर्वसम्मत हुने अवस्था नभए विगतको विभाजनका घटनाबाट पाठ सिक्ने गरी स्वस्थ प्रतिस्पर्धाका लागि ध्यानाकर्षण गराएको जानकारी दिए ।
‘बैठकमा कसैले पनि उम्मेदवारी घोषणा वा आफू बन्ने ढंगले कुरा गर्नुभएन । कुरा गरिहालेमा पनि स्वाभाविक रूपमै लिन्छौँ । तर, अध्यक्षले बैठकमा थप एउटा कुरा भन्नुभो– अहिलेसम्म विभिन्न महाधिवेशनमा प्रतिस्पर्धा भयो । म मात्र त्यस्तो पात्र रहेँ जसले प्रतिस्पर्धामा पराजित भएर पनि पार्टी एकताका लागि निरन्तर योगदान पुर्यायो, म पार्टी एकता सुदृढ गर्नतिर मात्र लागेँ । तर, विगतमा प्रतिस्पर्धा गर्ने साथी माधव नेपाल, भीम रावलहरू पार्टीमै रहनुभएन, त्यस्तो स्थिति नबनोस्, स्वस्थ प्रतिस्पर्धा गरौँ भन्ने आग्रह गर्नुभो,’ ज्ञवालीले भने, ‘स्वस्थ प्रतिस्पर्धाले खास फरक पर्दैन, तर आज आन्दोलन र देशको आवश्यकता सहकार्यका साथ एकताबद्ध भएर अगाडि बढ्ने नै हो भन्ने आग्रह अध्यक्षले गर्नुभयो ।’
ओलीले एकता र सर्वसम्मतिको महाधिवेशन बनाउन आग्रह गरे । ‘आमकार्यकर्ता पंक्ति र देशले चाहेको एकता र सर्वसम्मत्ति हो । यति हुँदाहुँदै पनि कसैले प्रतिस्पर्धा गर्छ भने त्यसलाई स्वस्थ प्रतिस्पर्धा गर्न सकिन्छ भन्नेबारे छलफल भएको छ,’ ज्ञवालीले भने ।
उपाध्यक्ष युवराज ज्ञवालीले पनि अध्यक्ष ओलीले महाधिवेशनलाई एकता र सर्वसम्मतिको महाधिवेशन बनाउने कुरामै जोड दिएको जानकारी दिँदै स्वस्थ प्रतिस्पर्धा गर्ने कुरालाई भने पार्टीले अवलम्बन गरेको नीति र सिद्धान्तकै निरन्तरताका रूपमा लिनुपर्ने विषयमा बैठकमा सबैको सर्वसम्मत धारणा बनेको बताए ।
सचिव योगेश भट्टराईले पार्टीलाई बलियो बनाउने विषयलाई केन्द्रविन्दु बनाएर कसैले फरक मत राख्नेबित्तिकै उसलाई शत्रु करार गरेर निषेध गर्ने, किनरीकृत गर्ने प्रवृत्ति हाबी भएको भन्दै अध्यक्ष ओलीकै संरक्षणमा त्यस्तो काम हुनु ज्यादै दु:खद भएको बताए । भट्टराईको भनाइलाई समेत आधार मानेर पोखरेलले बैठकमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका थिए । उनले २३ र २४ भदौको जेन–जी आन्दोलनपछि देशमा नयाँ घटनाक्रम विकसित भएकाले त्यसको गम्भीर विश्लेषण र आत्मसमीक्षासहित पार्टी अगाडि जानुपर्नेमा जोड दिए ।
‘विधान महाधिवेशनलगत्तै भएको जेन–जी आन्दोलन र विकसित घटनाक्रमबारे हामीले गम्भीर ढंगले आत्मसमीक्षा गर्न जरुरी छ । त्यत्रो विध्वंसकारी घटना खाली सोलोडोलो विदेशी षड्यन्त्रका कारण मात्र भयो भनेर कसैले पनि पत्याउँदैन । त्यसभित्र सरकारको नेतृत्व गरेको हिसाबले हाम्रो कमजोरी कति हो, आत्मसमीक्षा गनुर्पछ, कमजोरी छ भने आत्मालोचना पनि गर्नुपर्छ,’ पोखरेलेको भनाइ थियो, ‘पक्कै पनि विदेशी षड्यन्त्र पनि होला, तर प्रधान कुरा त्यही हो कि होइन, हो भने कसरी हो ? केही पनि आत्मसमीक्षा भएन, त्यसैले महाधिवेशनमा हामी स्पष्ट दृष्टिकोणसहित प्रस्तुत भएर पार्टीलाई सही नीति र विचारसहित अगाडि बढाउनुपर्ने आवश्यकता छ ।’
पोखरेलको भनाइलाई उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सचिवहरू योगेश भट्टराई र गोकर्ण विष्टले पनि समर्थन जनाएका थिए । भट्टराईले नेतृत्वले सही निर्णय लिन नसक्दा मधेशमा एमाले एक्लिने अवस्था बनेको भन्दै तत्काल कमजोरीको समीक्षासहित कोर्स करेक्सनको बाटोमा जानुपर्ने मत राखेका थिए । ‘संवैधानिक हिसाबले धारा १६८ को उपधारा २ हुँदै ३ को प्रयोग गर्ने प्रक्रिया आफ्नो ठाउँमा ठिकै होला, तर होटेलजस्तो ठाउँमा रातारात शपथ गराउँदा पार्टी बदनाम मात्रै भएन, मधेशको बौद्धिक समुदायले एमालेविरुद्ध नकारात्मक टिप्पणी गर्ने अवस्था बन्यो, त्यसैले कसरी हुन्छ सच्चिएर अगाडि जानुपर्छ,’ उनले भने ।
भट्टराईको भनाइलाई समर्थन जनाउँदै महासचिव शंकर पोखरेलले मुख्यमन्त्री सरोज यादवलाई तत्काल राजीनामा दिन निर्देशन दिएर कोर्स करेक्सन गर्नु उपयुक्त हुने र बदनामको घटनाबाट एमाले सच्चिएको सन्देश जाने धारणा राखेका थिए ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई सदस्यता नदिएर ठुलो गल्ती भएको र त्यसले पार्टीलाई घाटा पुर्याएको विगतकै धारणा दोहोर्याएका थिए । ‘अध्यक्ष उठ्ने कि नउठ्ने उहाँको विवेकको कुरा थियो होला र उहाँ पार्टी सदस्य मात्र पनि रहन सक्नुहुन्थ्यो । तर, सदस्यता नदिँदा उहाँमाथि अन्याय त भएकै छ, त्यसबाट पार्टीलाई समेत घाटा पुगेको छ,’ पोखरेलको भनाइ थियो ।
