दुर्गा प्रसाईंको रिहाइ माग गर्दै विद्युत प्राधिकरणको मोबाइल एप ह्याक
काठमाडौँ । एक ह्याकर समूहले नेपाल विद्युत प्राधिकरणको एप ह्याक गरेको दाबी गरेको छ । ‘नेपाली फर नेपाल’ नामक उक्त समूहले प्राधिकरणको एप ह्याक गरी हिरासतमा रहेका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न माग गरेको छ ।
प्राधिकरणको एपको होमपेजमा रहेको स्लाइडरमा प्रसाईंको रिहाइ माग गरिएको ब्यानर राखिएको छ । ‘अन्तरिम सरकार’ लाई सम्बोधन गर्दै राखिएको उक्त सूचनामा सोमबार राति पक्राउ परेका प्रसाईंलाई २४ घण्टाभित्र रिहा गर्न माग गरिएको छ । माग पूरा नभए ‘साइबर प्रोटेस्ट’ गर्ने चेतावनी समेत दिइएको छ । ह्याकर समूहले मेसेजिङ एप टेलिग्राममार्फत उक्त ह्याक घटनाको जिम्मेवारी लिएको हो ।
ह्याकरले टेलिग्राममा एक भिडिओ सार्वजनिक गर्दै एपमा आफ्नो एड्मिन एक्सेस भएको खुलाएको छ । उक्त भिडिओमा प्राधिकरणको एपको कन्टेन्ट मेनेजमेन्ट सिस्टमको पुरै एक्सेस ह्याकरसँग भएको देखिन्छ । एपको ड्याशबोर्ड, नोटिफिकेसन पठाउने सिस्टम, ब्लग सेक्सन, आएका गुनासो हेर्ने सेक्सनको एक्सेस ह्याकरले पाएका छन् । त्यसैगरी चार्जिङ स्टेसन, सूचनाको सेक्सन, एपको मेनेजमेन्ट एक्सेस, प्रयोगकर्ताको विवरण, प्रयोगकर्ताले पठाएको सुझाव जस्ता सेक्सनको एक्सेस पनि उक्त ह्याकर समूहसँग भएको देखिन्छ ।
यसअघि यही समूहले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको वेबसाइटमाथि पनि साइबर आक्रमण गरेको थियो । केही समय अवरुद्ध भएको विभागको वेबसाइट अहिले सञ्चालनमा आइसकेको छ । आफूलाई ‘नेपालको रिसर्च एन्ड एनालाइसिस अर्गनाइजेसन’ बताउने यो समूहले अन्य सरकारी वेबसाइटमाथि पनि आक्रमण गर्ने चेतावनी दिएको छ ।
यता विद्युत प्राधिकरणले भने आफ्नो एप ह्याक नभएको दाबी गरेको छ । प्राधिकरणका सूचना अधिकारी सर्वजितकुमार चौधरीले वेबसाइट र मोबाइल एपमा प्रणाली अपग्रेडको काम भइरहेको बताए । “हामीले केही दिनअघि नै सूचना जारी गरेर मर्मतसम्भारबारे जानकारी दिएका थियौँ, अहिले पनि सोही काम जारी छ,” उनले टेकपानासँग भने । यस विषयमा थप अध्ययन भइरहेको उनले जनाए ।
प्राधिकरणले २७ कात्तिकमा सूचना जारी गर्दै २९ र ३० कात्तिक अर्थात् २४ घण्टा सिस्टम अपग्रेडका कारण सेवा अवरुद्ध हुने जनाएको थियो । तर, तोकिएको समय सकिएको केही दिनपछि एपमा ह्याकर समूहले ब्यानर राखेको भेटिएको छ । टेलिग्राममा सार्वजनिक लिङ्क हेर्दा प्राधिकरणको सिस्टमको ब्याकइन्डमा तस्बिर परिवर्तन भएको देखिन्छ ।
