दुर्गा प्रसाईंले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदैछ । यो रिट न्यायाधीश मेघराज पोखरेलको इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ ।
प्रसाईंको तर्फबाट उनका छोरा निराजन प्रसाईंले गैरकानुनीरुपमा आफ्ना बुवालाई थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा मंगलबार बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका हुन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी , जिल्ला प्रशासन कार्यालय काठमाडौं, जिल्ला प्रहरी परिसर भद्रकाली, प्रहरी प्रधान कार्यालय नक्साल, गृह मन्त्रालय सिंहदरबार र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारलाई रिटमा विपक्षी बनाइएको छ ।
प्रसाईलाई सोमबार राति भक्तपुरस्थित निवासबाटै पक्राउ गरिएको थियो । शान्ति व्यवस्थामा खलल पुर्याएको कसुरमा प्रसाईंलाई पक्राउ गरेर थप अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँबाट ४ दिनको म्याद थप भएको छ
