‘प्रत्यक्ष सन्देश’ सुविधा ल्याउने तयारीमा युट्युब
युट्युबले आफ्नो प्लेटफर्ममा प्रत्यक्ष सन्देश सुविधालाई ल्याउने तयारी गरिरहेको छ। यो फिचरले प्रयोगकर्ताहरूलाई युट्युब मोबाइल एपभित्रै एकअर्कासँग भिडियोहरू साझेदारी गर्न र तिनका बारेमा कुराकानी गर्न अनुमति दिनेछ।
यो सुविधालाई युट्युबले ‘शीर्ष सुविधा अनुरोध’ को रूपमा वर्णन गरेको छ। युट्युबले पहिले नै यो सुविधा राखेको थियो। तर सन् २०१९ मा यसलाई हटाइएको थियो। युट्युबको पछिल्लो परीक्षणले भिडियोहरू साझेदारी गर्ने नयाँ तरिकाहरूलाई प्राथमिकता दिएको छ। हाल यो सुविधा आयरल्याण्ड र पोल्याण्डमा मात्र रोल आउट गरिएको छ।
यो सुविधा १८ वर्ष वा सोभन्दा माथिका वयस्कहरूका लागि मात्र उपलब्ध हुने भएको छ। प्रयोगकर्ताहरूले लामो, छोटो र लाइभ स्ट्रिम भिडियोहरू सिधै युट्युब मोबाइल एपमा सेयर गर्न र तिनको बारेमा कुराकानी गर्न सक्ने छन्।प्रयोगकर्ताहरूले च्याट सुरु गर्नुअघि एकअर्कालाई निमन्त्रणा पठाउनुपर्नेछ।
निमन्त्रणा अस्वीकार गर्ने विकल्प पनि हुनेछ। साथै प्रयोगकर्ताहरूलाई ब्लक गर्ने र कुराकानीहरू रिपोर्ट गर्ने सुविधा पनि उपलब्ध हुनेछ। यो सुविधा कहिलेदेखि विश्वव्यापी रूपमा व्यापक उपलब्ध हुन्छ भन्नेबारे युट्युबले हाल स्पष्ट पारेको छैन ।
