एमाले संसद् पुनर्स्थापनाका लागि सडक र अदालतको बाटोमा
काठमाडौं ३ मंसिर । विघटित संसद् पुनर्स्थापनाका लागि एमालेले सडक र अदालत दुवैतिरको बाटो अख्तियार गर्ने भएको छ । पुस्र्थापनाका पक्षमा देशव्यापी जनपरिचालन गरिरहेको एमालेले मंगलबार संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्ने निर्णय गरेको हो ।
पार्टी केन्द्रीय कार्यालय, च्यासल ललितपुरमा बसेको विघटित संसदीय दलको बैठकले त्यस्तो निर्णय गरेको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । संसद् पुनर्स्थापनाकै पक्षमा एमालेले २९ कात्तिकमा उपत्यकाबाहेक सबै जिल्ला सदरमुकाममा प्रदर्शन र सभा गरेको थियो । त्यस्तै, ६ मंसिरमा काठमाडौंमा बृहत् प्रदर्शन र सभा गर्ने तयारी गरेको छ ।
‘संविधानविपरीत नियुक्त प्रधानमन्त्रीले शपथलगत्तै मन्त्रिपरिषद् गठनसम्म नगरी एकल रूपमा हठात् प्रतिनिधिसभा विघटनको निर्णय संविधानको मर्म र भावनाविपरीत हो । साथै, संविधानवाद, विधिको शासन, लोकतन्त्र र जनतामा निहित सार्वभौमसत्ताको अवधारणाविपरीत हो । एमाले संसदीय दल (विघटित प्रतिनिधिसभा)को यो बैठक प्रधानमन्त्रीको नियुक्ति र प्रतिनिधिसभा विघटन गर्ने कदम संविधान र लोकतन्त्रविपरीत रहेको ठहर गर्दछ ।’ बैठकको निर्णय उद्धृत गर्दै तत्कालीन प्रमुख सचेतक बर्तौलाले भने, ‘यो बैठक उक्त संविधानविपरीत र लोकतन्त्रविरोधी कदम सच्चाउन प्रतिनिधिसभाको पुनर्स्थापनाका लागि सम्मानित सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्ने निर्णय गर्दछ ।’
