बैंकमा लगानीयोग्य रकम ११ खर्बभन्दा बढी

द एभरेष्ट पोष्ट
४ मंसिर २०८२ ७:२८
बैंकमा लगानीयोग्य रकम ११ खर्बभन्दा बढी

काठमाडौं ३ मंसिर । चालु आर्थिक वर्षको पहिलो चौमास सकिँदासम्म बैंक तथा वित्तीय संस्थामा सवा ११ खर्बभन्दा धेरै ऋण दिन मिल्ने रकम (अधिक तरलता) थुप्रिएको छ । साढे दुई वर्षअघिदेखि बैंकहरूमा तरलता थुप्रिँदै आएको छ । पछिल्ला दिनमा रेमिट्यान्समा आएको बढोत्तरीले बैंकमा पैसा थुप्रिने क्रम तीव्र बनेको हो ।

चालु आर्थिक वर्ष विस्तारकारी बजेट र मौद्रिक नीति आएकाले कर्जा प्रवाह बढ्ने र बैंकहरूमा थुप्रिएको ऋणयोग्य रकम घट्ने अपेक्षा थियो । सुरुका महिनामा कर्जा माग बढ्ने संकेत देखिन थालेका थिए । तर २३ र २४ भदौको प्रदर्शनपछि सिर्जित असहज परिस्थितिका कारण कर्जा विस्तार ठप्पप्रायः भएको बैंकहरू बताउँछन् । यहीकारण बैंक तथा वित्तीय संस्थामा निक्षेप लगातार बढिरहेको छ भने ऋण दिन मिल्ने रकम पनि थुप्रिँदै गएको हो ।

गत शनिबार (२९ कात्तिक) सम्म बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ७५ खर्ब २ अर्ब रुपैयाँ छ । सोही अवधिमा बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७४.३१ प्रतिशत छ । राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले कुल निक्षेपको बढीमा ९० प्रतिशतसम्म ऋण दिन पाउँछन् । सोही अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा प्रवाह ५६ खर्ब ३९ रुपैयाँ छ ।

उल्लिखित तथ्यांकका आधारमा असार मसान्तमा बैंक तथा वित्तीय संस्थामा ११ खर्ब १२ अर्ब रुपैयाँ ऋण दिन मिल्ने रकम (अधिक तरलता) देखिन्छ । तर बैंक तथा वित्तीय संस्थाले आफ्नो कुल निक्षेपको २० प्रतिशत रकम बैंकमा नगद राख्नुपर्छ । सबै बैंकले २० प्रतिशतका दरले तरलता कायम गर्दा सीडी अनुपातको करिब एक प्रतिशतले हुन आउने रकम बराबर खर्च हुन्छ ।

बैंक तथा वित्तीय संस्थालाई निक्षेपको ९० प्रतिशतसम्म सीडी अनुपात कायम गर्न छुट भए पनि २० प्रतिशत तरलता कायम गर्नुपर्ने भएकाले उनीहरूले ८९ प्रतिशतसम्म जान (ऋण दिन) पाउँछन् । यी तथ्यलाई आधार मान्दा पनि २९ कात्तिकसम्म बैंक तथा वित्तीय संस्थासँग करिब १० खर्ब ३७ अर्ब रुपैयाँ ऋण दिन मिल्ने रकम वित्तीय प्रणालीमा रहेको जानकार बताउँछन् ।

रेमिट्यान्स उच्च दरले बढिरहेको तर कर्जा प्रवाह बढ्न नसकेकाले बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम थुप्रिएको राष्ट्रिय योजना आयोगका पूर्वसदस्य प्रकाशकुमार श्रेष्ठको भनाइ छ । ‘आयात बढेको छ । तर अझै पनि आर्थिक वर्ष २०८९/८० को स्तरमा पुग्न सकेको छैन । अहिले मासिक रूपमा हेर्दा १ खर्ब ५६ अर्ब रुपैयाँसम्मको आयात भएको अवस्था छ । जब कि मासिक रूपमा २ खर्बभन्दा रेमिट्यान्स भित्रिएको छ । यसकारण बैंकमा अधिक तरलता थुप्रिएको छ,’ उनले भने, ‘ब्याजदर न्यून रहँदा पनि तरलता बढिरहेको र ब्याजदर थप घटाएर पनि कर्जा प्रवाह हुने अवस्था नभएकाले अर्थतन्त्र तरलता पासोमा रहेको अवस्था हो ।’

अधिक तरलताको मार सबैभन्दा बढी निक्षेपकर्तालाई परेको श्रेष्ठले बताए । ‘औसत मूल्यवृद्धिदर कम भएकाले निक्षेपको ब्याजदर धेरै तल जाँदा पनि ब्याजदर ऋणात्मक अवस्थामा गएको छैन । तर यति बेला निक्षेपकर्ता ठूलो मारमा छन्,’ उनले भने, ‘सरकारी खर्च धेरै बढ्न नसक्दा र बैंकहरूको कर्जा प्रवाह नबढ्दा नागरिकको हातमा पैसा पुग्न सकेको छैन । जसकारण उपभोग बढ्न सकेन ।’

ब्याजदर बढी हुँदा महँगो ब्याज तिर्नुपर्ने भएकाले ऋणी मारमा हुन्थे । अहिले अधिक तरलता भएकाले निक्षेपकर्ता मारमा परेको श्रेष्ठले बताए । तरलता व्यवस्थापनका लागि सबैभन्दा बढी सरकारले काम गर्नुपर्ने उनको सुझाव छ ।

‘तरलता प्रयोग गर्ने सरकार र निजी व्यवसायी हुन् । केही मात्रामा उपभोक्ताले उपभोग गर्न प्रयोग गर्छन्,’ श्रेष्ठले भने, ‘आम उपभोक्ताको हातमा पैसा पुगेको छैन भने निजी क्षेत्रको आत्मविश्वास कमजोर भएकाले उसले लगानी विस्तार गर्न सकेको छैन । मुलुकमा चरम राजनीतिक अस्थिरता छ, सुशासनमा सुधार भएको छैन । यसकारण समस्या भएको हो ।’

सरकारले सूचना प्रविधिलगायत क्षेत्रमा नेपालीलाई विदेशमा लगानी खुला गरेको छ । सरकारले अरू केही क्षेत्रमा नेपालीलाई विदेशमा लगानीका लागि खुला गर्नुपर्ने उनको सुझाव छ । ‘अल्पकालमा तरलता व्यवस्थापनका लागि बैंकहरूलाई पनि विदेशी लगानीका लागि खुला गरिदिन सकिन्छ । यसो गर्दा बैंकको प्रतिफल बढ्न सक्छ,’ उनले भने, ‘तत्कालका लागि राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात (सीआरआर) बढाइदिन सक्छ । त्यसो गर्दा बैंकहरूमा रहेको रकम राष्ट्र बैंकमा पुग्छ । यसो गर्दा अर्को पटक सीआरआरमा कडाइ गर्दा खुकुलो बनाउन सकिन्छ ।’

लगानी विस्तारका लागि निजी क्षेत्रलाई पूर्ण रूपमा सुरक्षाको प्रत्याभूति दिएर उनीहरूको आत्मविश्वास उँचो बनाएर लगानी विस्तारका लागि प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ । ‘हामीसँग बाह्य क्षेत्र निकै बलियो, अधिक तरलता, न्यून ब्याजदर भएर पनि केही गर्न नसकेको अवस्थामा छौं । यो सुनको कचौरा बोकेर माग्ने बसेजस्तो अवस्था हो,’ उनले भने, ‘यो अवस्थामा सुधार ल्याउन सरकारले खर्च बढाउनुका साथै धेरै नीतिगत सुधार गर्नुपर्छ ।’

बजारमा लगातार तरलता बढेपछि राष्ट्र बैंकले पनि नियमित रूपमा बजारबाट पैसा झिकिरहेको छ । अघिल्ला महिनामा छोटो समय (७, १७, २१ दिन) का लागि बजारबाट पैसा झिक्दै आएको राष्ट्र बैंकले पछिल्ला दिनमा लामो अवधि (१७५ दिन, ८४ दिन) का लागि पैसा झिक्दै आएको छ । राष्ट्र बैंकले लामो समयका लागि पैसा झिक्नुलाई अझै केही समय तरलता नघट्ने संकेतका रूपमा बुझ्न सकिन्छ । यो साता गत आइतबार पनि राष्ट्र बैंकले ८४ दिनका लागि ५० अर्ब रुपैयाँ झिकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस