मध्यरातमा निवासबाट पक्राउ परे दुर्गा प्रसाईं
काठमाडौँ । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंं प्रकाउ परेका छन् । उनलाई भक्तपुरस्थित निवासबाट सोमबार मध्यराति पक्राउ गरिएको हो ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार उनलाई पक्राउ गरी काठमाडौँ प्रहरी परिसर भद्रकालीमा नियन्त्रणमा राखिएको छ । उनलाई शान्ति सुरक्षा खल्बलाएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
आगामी मंसिर ७ गतेदेखि आन्दोलन चर्काउने घोषणा गरेसँगै उनलाई प्रहरीले पक्राउ गरेको हो । सरकारलेसमेत कुनै आन्दोलन नगरी वार्ताका माध्यमबाट समस्याको समाधान खोज्न आह्वान गरिरहँदा सुरक्षा खल्बनाउने तरिकाले आन्दोलनको तयारी गरेपछि उनी पक्राउ परेका हुन् ।
प्रसाईंले आफूलाई राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ महाअभियानका संयोजकका रूपमा चिनाउँदै आएका छन् ।
जेन–जी आन्दोलन भड्काउन उनको भूमिका रहेको आशंका पहिलोदेखि नै सुरक्षाकर्मीले गर्दै आएको छ । जेन–जी आन्दोलनपछि उनी आफ्नो पनि परिवर्तनमा योगदान रहेको भन्दै सैनिक मुख्यालयमा बाक्लो आउजाउ गरेका थिए ।
त्यतिबेला जेन–जी अभियन्ता रक्षा बमले प्रधानसेनापतिले दुर्गा प्रसाईं र रास्वपाका नेताहरूसँग सामूहिक वार्ताँ गर्ने भनेसँगै वार्ता छोडेर बाहिर आएको प्रतिक्रियासमेत दिएकी थिइन् ।
प्रसाईंले पटक पटक मन्त्रिपरिषद् विस्तारका क्रममा आफ्ना मान्छेलाई समेट्न दबाब दिँदै आएकोसमेत स्रोत बताउँछ ।
सुरक्षा संयन्त्रले देशै ठप्प पार्ने भन्दै उग्र अभिव्यक्ति दिइरहेसँगै पछ्याइरहेको थियो । प्रसाईं समूहका तर्फबाट प्रवक्ता माधव खतिवडा २६ बुँदे माग पत्र लिएर गृह मन्त्रालयमा वार्ताका लागिसमेत पुगेका थिए ।
प्रसाईं विवादित व्यक्ति हुन् । उनी आफ्नो स्वार्थ पूर्तिका लागि कहिले माओवादी बने भने कहिले एमाले । पछिल्लो समय उनले राजावादीको नकाब लगाएका छन् ।
उनी यसअघि दुई पटक साइबर कसूर सम्बन्धी र गत वर्षको चैत १५ गते राजावादीहरूको आन्दोलन भड्काउन भूमिका खेलेको भन्दै पक्राउ परेका थिए ।
उनी तीनै वटा मुद्दामा धरौटीमा छुटेका अभियुक्त हुन् ।
