दिल्लीबाट शेख हसिनाले भनिन् : मृत्युदण्डको फैसला पक्षपाती र राजनीति प्रेरित
काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराध मुद्दामा मृत्युदण्डको सजाय सुनाएको छ । ढाकामा मृत्युदण्डको फैसला भइरहँदा हसिना भारतमा निर्वासनमा छिन् ।
फैसलामाथि टिप्पणी गर्दै हसिनाले पक्षपाती, राजनीतिक रूपमा प्रेरित र लोकतान्त्रिक जनादेश बिनाको धाँधलीपूर्ण अदालतद्वारा जारी गरिएको बताएकी छन् ।
नयाँ दिल्लीमा इन्डिया टूडेसँगको अन्तर्वार्तामा ७८ वर्षीय हसिनाले आफूमाथि लगाइएका आरोपहरूलाई अस्वीकार गरेकी छन् । फैसला पूर्व निर्धारित निष्कर्ष भएको दाबी गरेकी छन् ।
उनले आफ्नो अनुपस्थितिमा भएको फैसलाको आलोचना गर्दै भनिन्, ‘आईसीटी (अदालत) मा अन्तर्राष्ट्रिय केही छैन, न त यो कुनै पनि हिसाबले निष्पक्ष छ, अवामी लिग (उनको पार्टी) का सदस्यहरूलाई विशेष रूपमा मुद्दा चलाइएको छ, जबकी विपक्षी दलले गरेका कथित हिंसालाई बेवास्ता गरिएको छ ।’
ढाकाको अन्तर्राष्ट्रिय अदालतले हसिनालाई हिंसा भड्काएको, प्रदर्शनकारीहरूलाई मार्ने आदेश जारी गरेको र व्यापक अत्याचार रोक्न असफल भएको आरोपमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला गरेको छ ।
पूर्वगृहमन्त्री असदुज्जमान खानलाई पनि मृत्युदण्डको सजाए सुनाइएको छ । जबकी एक तत्कालीन प्रहरी प्रमुखलाई भने सरकारको साक्षी बनेका कारण पाँच वर्षको जेल सजाय सुनाइएको छ ।
फैसलालाई अस्वीकार गर्दै हसिनाले भनिन्, ‘विश्वका कुनै पनि साँच्चै सम्मानित वा व्यवसायिक कानुनविद्ले बंगलादेश आईसीटी (अदालत) लाई समर्थन गर्दैनन् ।’ बंगलादेशको अन्तिम निर्वाचित प्रधानमन्त्री (आफू)लाई हटाउन अदालत प्रयोग भएको उनको दाबी छ ।
उनले अन्तरिम सरकारका प्रधानमन्त्री मुहम्मद युनुसलाई असंवैधानिक रूपमा र अतिवादी तत्वहरूको समर्थनमा सत्ता कब्जा गरेको आरोप लगाएकी छन् । गत वर्ष भएको आन्दोलन हिंसात्मक, क्रूर र आततायी भएको भन्दै उनले तत्कालीन सरकारले दमन गरेको आरोपको प्रतिवाद गरेकी छन् । बरु उल्टो शान्तिपूर्ण प्रदर्शनकारीलाई गोली हानी हत्या गरिएको, पत्रकारहरूलाई समेत दुर्व्यवहार र यातना दिइएको आरोप विपक्षीमाथि लगाएकी छन् ।
हसिनाले युनुस सरकारको आदेशमा सेनाले देशभर प्रतिशोधात्मक आक्रमण गरेको, अवामी लिगका नेता तथा कार्यकर्ताहरूको सयौं घर, व्यवसाय र सम्पत्ति नष्ट गरिएको आरोप लगाएकी छन् ।
मानवअधिकार उल्लघंन सम्बन्धी अदालतको फैसलाबारे बोल्दै हसिनाले भनिन्, ‘जुलाई–अगस्टको अशान्ति हाम्रा लागि त्रासदी हो ।’ उनले पूर्वयोजना अनुसार हत्या गरेको आरोप अस्वीकार गरिन् ।
उनले अभियोजकहरूले आफूलाई सामूहिक हिंसामा जोड्ने कुनै पनि पुष्टि हुने प्रमाण पेश गर्न नसकेको दाबी समेत गरिन् । सरकारी कारबाही सुव्यवस्था कायम राख्न घरेलु र अन्तर्राष्ट्रिय कानुन अनुसार नै गरिएको तर्क गरेकी छन् ।
उनले आन्दोलनमा १४०० को मृत्यु भएको संख्या समेत झुटो भएको बताइन् । आफू नेतृत्वमा रहँदा तत्कालीन स्वास्थ्य मन्त्रालयले ६१४ जनालाई शहीद घोषणा गरेर राहत दिने निर्णय भएको दलील पेश गर्दै हसिनाले अहिलेको सरकारको दबाबमा अभियोजनकर्ताहरू बेनामे साक्षीको भर परेको भन्दै आलोचना गरिन् ।
हसिनाले तटस्थ अन्तर्राष्ट्रिय मञ्चमा मुद्दाको सामना गर्न आफू तयार रहेको दोहोर्याइन् । उनले भनिन्, ‘म मेरा आरोप लगाउनेहरूलाई उचित अदालतमा सामना गर्न डराउँदिन, जहाँ प्रमाणहरूको निष्पक्ष रूपमा मुल्याकंन र परीक्षण गर्न सकिन्छ ।’
अन्तर्राष्ट्रिय अदालतले निर्दोष ठहर्याउने निश्चित भएर अहिलेको अन्तरिम सरकारले निष्पक्ष छानबिन हुन नदिएको हसिनाको दाबी छ ।
बंगलादेशमा आगामी फेब्रुअरी आम निर्वाचन घोषणा गरिएको छ । चुनाव हुन केही महिनाअघि पूर्वप्रधानमन्त्री हसिनामाथि सुनाइएको मृत्युदण्डको फैसलाले त्यहाँ राजनीतिक तनाव बढेको छ । विज्ञहरूले थप अस्थिरताको चेतावनी दिएका छन् ।
