एनपीएलका लागि १७ सयभन्दा बढी प्रहरी परिचालन

द एभरेष्ट पोष्ट
२ मंसिर २०८२ १४:००
एनपीएलका लागि १७ सयभन्दा बढी प्रहरी परिचालन

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्घाटन खेलका लागि काठमाडौं प्रहरीले १७ सयभन्दा बढी प्रहरी परिचालन गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान र त्यस वरपरको सुरक्षा व्यवस्था कडा पार्न यो जनशक्ति खटाइएको हो, जसमध्ये १२ सय २३ जना प्रहरी खेल मैदानको प्रत्यक्ष सुरक्षामा केन्द्रित छन्।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार खेल स्थलको भित्री तथा बाहिरी सुरक्षाका लागि मात्रै १२ सय २३ जनाको ‘डेडिकेटेड’ प्रहरी टोली खटिएको छ।

यसबाहेक खेलाडीको आवास, आवतजावत, ट्राफिक व्यवस्थापन, अपराध अनुसन्धान तथा सूचना संकलन जस्ता कार्यका लागि थप ५ देखि ७ सयको संख्यामा अतिरिक्त जनशक्ति परिचालन गरिएको छ।

‘खेल खेल्ने ठाउँमै हामीले १२ सय २३ जना प्रहरीको डिप्लोयमेन्ट गरेका छौँ,’ परिसरका सूचना अधिकारी पवनकुमार भट्टराईले उकेरासँग भने, ‘त्यसबाहेक खेलाडी बस्ने ठाउँ, आवतजावत, ट्राफिक व्यवस्थापन र अन्य निगरानीका लागि थपिएको जनशक्तिसहित समग्र संख्या धेरै हुन आउँछ।’

उद्घाटन खेलका लागि सबै टिकट बिक्री भइसकेकाले सम्भावित भीड र सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै प्रहरीले यति ठूलो संख्यामा जनशक्ति परिचालन गरेको हो। नेपाली क्रिकेटप्रति दर्शकको बढ्दो क्रेजका कारण मैदानमा ठूलो भीड हुने अनुमान छ।

यसै सन्दर्भमा प्रहरीले एक सूचना जारी गर्दै टिकट नभएका दर्शकलाई मैदान वरपर भिडभाड नगर्नसमेत अनुरोध गरेको छ।

‘आजको सम्पूर्ण टिकटहरू बिक्री भइसकेको जानकारी प्राप्त भएकोले टिकट नभएका महानुभावहरू उक्त स्थान वरपर भिडभाड नगरी सुरक्षा व्यवस्थापन गर्ने कार्यमा सहयोग गरिदिनुहुन अनुरोध गर्दछौँ’, प्रहरीको सूचनामा भनिएको छ।

टिकट नभएका समर्थकहरू मैदान बाहिर जम्मा हुँदा सुरक्षा व्यवस्थापनमा कठिनाइ हुने र अनावश्यक भीड बढ्ने भएकाले प्रहरीले सबैलाई घर वा अन्य स्थानबाटै खेलको मज्जा लिन आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस