मनिषको पहिलो गीत ‘बन्दीपुर बजारमा’ सार्वजनिक

द एभरेष्ट पोष्ट
१ मंसिर २०८२ २३:१७
मनिषको पहिलो गीत ‘बन्दीपुर बजारमा’ सार्वजनिक

 

कोलोराडो, १५ नोभेम्बर ।

गायक मनिष विश्वकर्माको ‘बन्दीपुर बजारमा’ बोलको गीतको म्युजिक भिडिओ शनिवार अमेरिकाको कोलोराडोमा सार्वजनिक गरिएको छ । मनिषको यो पहिलो म्युजिक भिडिओ हो ।

मनिष तनुहँको बन्दीपुरमा जन्मिए । उनको बालापन त्यही बित्यो । एक दशकअघि अवसरले उनलाई अमेरिका पु¥यायो । उनको शरीर अमेरिकामा रहेपनि मन मुटुमा बन्दीपुर थियो ।

मनिषलाई बन्दीपुरको सुन्दरता, संस्कृति र आफ्नोपनले अमेरिकामा पछ्याईरह्यो । संगीतमा उनको लगाव थियो । मनमा बन्दीपुरको प्रेम । बन्दीपुरको त्यही प्रेम गीतमा छचल्कियो । र, बन्यो एउटा सुन्दर गीत–‘बन्दीपुर बजारमा’।

त्यसपछि उनी पुगे, संगीतकार राजन भक्त श्रेष्ठको कोलोराडोको थ्रोन्टनस्थित मिष्टिक भाईभ्स स्टुडियो । जहाँ उनले आफ्नै स्वरमा गीत रेकर्ड गरे । जसमा श्रेष्ठले मिठो संगीत भरे ।

यस पटक दशैंमा बन्दीपुर  पुगेका मनिषले नेपाल छोड्नु अघि हतारमा म्युजिक भिडिओका लागि कलाकार खोजे । र, दुई दिनमै गीतको छायांकन गरे । र, अमेरिका फर्किए ।

उनी त्यसपछि चुपचाप बसेनन् । आफैले भिडिओ सम्पादन गरे । र ‘बन्दीपुर बजारमा’ लाई पूर्णता दिए ।

र, झण्डै दुई महिनाको पखाईपछि मनिषले शनिवार साँझ ७ स् ३० बजे थ्रोन्टनमा आफन्त, शुभेच्छुक र साथीभाईहरुका माझमा म्युजिक भिडियो सार्वजनिक गरे ।

मन, मुटु र नजरबाट कहिल्यै ओझेल नहुने बन्दीपुर झै हृदयमा सुटुक्क पसेकी एउटी युवतीको प्रेममा परेका छन्, एक युवक । र, उनी थानीमाईलाई चमत्कार गर्न भाकल गर्छन् । ‘बन्दीपुर बजारमा’ गीत त्यही युवकको प्रेम कथा हो । ।

उनको जीवनको सहयात्री रविना घिमिरे विश्वकर्माले निर्माण गरेको गीतको छायांकन, सम्पादन र निर्देशन मनिषले गरेका हुन् । म्युजिक भिडिओका दृष्यहरु तनहुँको बन्दीपुर बजार र त्यसैको सेरोफेरोमा छायांकन गरिएका हुन् ।

‘बन्दीपुर बजारमा’ म्युजिक भिडिओको सहायक निर्देशन तथा उत्पादन प्रमुखको भूमिका बिबेक बिकेले निर्वाह गरे । जसमा दिप्शन माजकोटी, कृपा गुरुङ र सुष्मिता बयलकोटीको अभिनय रहेको छ । मेकअपमा पनि कृपा र बयलकोटीले नै साथ दिएकी छन् ।

शनिवार म्युजिक भिडिओ सार्वजनिक भएपछि मनिषले सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

उनले गीतको म्युजिक भिडिओ हेरेर सुझाव, सल्लाह र प्रतिक्रिया दिन दर्शक तथा स्रोताहरुलाई आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस