रेमिट्यान्स ३५.४ प्रतिशतले बढ्यो
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा नेपाल भित्रिने रेमिट्यान्स ३५.४ प्रतिशतले वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको विवरणअनुसार, ०८२ साउनदेखि असोजसम्मको तीन महिनाको अवधिमा पाँच खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा नेपाल भित्रिने रेमिट्यान्स ११.९ प्रतिशतले बढेको थियो ।
०८२ असोज महिनामा मात्र दुई खर्ब एक अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । अघिल्लो वर्षको सोही महिनामा एक खर्ब ४४ अर्ब १७ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या एक लाख २३ हजार ४५९ र पुनः श्रम स्वीकृति लिनेको संख्या ७७ हजार २५७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः एक लाख १० हजार ६५४ र ५९ हजार ९३९ रहेको थियो ।
