४ वर्षपछि पुनः एमालेमै फर्किइन् रामकुमारी झाँक्री
काठमाडौं । करिब चार वर्षपछि रामकुमारी झाँक्रीसहितका नेताहरू पुनः नेकपा (एमाले)मा फर्किएका छन्। सोमबार राष्ट्रिय सभागृहमा आयोजित विशेष कार्यक्रममा झाँक्रीसँगै किसान श्रेष्ठ, गम्भीरलाल श्रेष्ठ, पिताम्बर तिमल्सिनालगायतका केन्द्रीय सदस्यहरूले औपचारिक रूपमा एमाले प्रवेश गरेका हुन्।
कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पार्टीको झण्डा प्रदान गर्दै स्वागत गरे। त्यसबापत किसान श्रेष्ठ र पिताम्बर तिमल्सिनाले ओलीलाई कलम प्रदान गरे।
झाँक्री र उनका सहकर्मीहरू २०७८ भदौ २ गते **एमाले विभाजनपछि बनेको नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका थिए। तर, पछिल्लो समय माओवादीसहितका १० घटकसँग एकता नगर्ने निर्णय गर्दै उनीहरू पुनः एमाले फर्किए।
२०७८ भदौ २ गते माधवकुमार नेपालको नेतृत्वमा एमाले विभाजनका लागि निर्वाचन आयोगमा निवेदन दिइँदा, झाँक्रीले नेपालको हात समाउँदै अघि बढाएको दृश्य त्यतिबेला निकै भाइरल बनेको थियो।
तर, पछिल्ला महिनाहरूमा झाँक्रीसहितका नेताहरू एकीकृत समाजवादीप्रति असन्तुष्ट हुँदै आएका थिए।
