मधेशमा मुख्यमन्त्री प्रदेशमा नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्ने सात दलको निर्णय
काठमाण्डौ – मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विरोधमा सात राजनीतिक दलले सर्वोच्च अदालतमा रिट दायर गर्ने निर्णय गरेका छन् ।
बिहान बसेको सात दलको बैठकले प्रदेशसभाको बहुमतलाई बेवास्ता गर्दै संविधानविपरीत मुख्यमन्त्री नियुक्ति भएको विरोधमा बहुमत प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट निवेदन दिने निर्णय भएको कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले जानकारी दिनुभयो । उहाँका अनुसार सात दलका ७४ जना सांसदको हस्ताक्षरसहित अदालत जाने तयारी छ ।
तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएपछि हिजो कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, लोसपा, जनमत, जसपा र नागरिक उन्मुक्ति पार्टीले संविधानको धारा १६८ (२) बमोजिमको सरकार गठनको प्रक्रिया अघि बढाउन माग गरेका थिए । तर प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीले आज बिहानै संविधानको धारा धारा १६८ (३) बमोजिम प्रदेशसभाको पहिलो दलको नेताका रूपमा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि दलहरूले विरोध गरेका हुन् ।
सात दलका प्रतिनिधि तथा सांसदहरूले मुख्यमन्त्रीमा नियुक्त यादवलाई मधेश भवनमा प्रवेश गर्न रोक्न गेट अगाडि प्रदर्शनसँगै प्रदेश प्रमुखको कार्यालयमा तोडफोड समेत गरेका छन् । प्रदर्शनकारीहरुले अहिले मुख्यमन्त्रीको कार्यालयबाट कर्मचारीलाई बाहिर निकालेर ताला लगाएका छन् ।
