एन्फाले लाइभ गर्न नमानेपछि खेलाडी संघद्धारा वार्ता स्थगित
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल फुटबल खेलाडी संघबीच आजका लागि आह्वान गरिएको वार्ता स्थगित भएको छ ।
संघको मागअनुसार वार्ता लाइभ गर्न एन्फाले नमानेपछि खेलाडी संघ पनि वार्तामा बस्न नमानेको हो । संघले सोमबार विहान स्टाटस राख्दै वार्ता लाइभ हुनुपर्ने माग राखेको थियो ।
संघका अध्यक्ष विक्रम लामाले एन्फा वार्ता लाइभ गर्न तयार नभएपछि वार्तामा नबसिएको जनाए । ‘हामीले सबैजनाले हेर्न पाऊन् भनेर लाइभ हुनुपर्ने माग राखेका थियौं, महासचिवज्यूले संस्थागत कुरा हो, लाइभ नगरीकन छलफल गरौं भन्नुभयो । हामीले त्यसपछि वार्ता सम्भव छैन भनेर भन्यौं’ लामाले भने ।
एन्फाले ए डिभिजन लिग र राष्ट्रिय लिगबारे उठेका खेलाडीहरूको माग र भावनालाई संवादमार्फत सम्बोधन गर्ने जनाउँदै आजका लागि वार्ता बोलाएको थियो ।
गत बिहीबार नेपाल फुटबल खेलाडी संघको नेतृत्वमा खेलाडीहरूले सातदोबाटोस्थित एन्फा मुख्यालय अगाडि धर्ना दिँदै आफ्ना मेडलहरू बुझाएका थिए।
खेलाडी संघले खेल्न पाउनु आफ्नो आधारभूत हक भएको र त्यसका लागि सडकमा आउन बाध्य भएको जनाएको थियो।
