एनपीएल दोस्रो संस्करणमा एनसेलले फेरि ‘पार्टनर बाइ’को साझेदारीलाई निरन्तरता दिने
काठमाडौं- एनसेलले नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को दोस्रो संस्करणका लागि नेपाल क्रिकेट संघ (क्यान) सँगको ‘पार्टनर बाइ’को साझेदारीलाई निरन्तरता दिने घोषणा गरेको छ।
‘युनाइटेड बाइ क्रिकेट, कनेक्टेड बाइ एनसेल’ भन्ने थिमका साथ एनसेलले यसपटक पनि एनपीएलमा सहकार्य गर्ने भएको हो। टी–ट्वान्टी ढाँचामा आधारित व्यावसायिक फ्रेन्चाइज प्रतियोगिता एनपीएलको दोस्रो संस्करण मंसिर १ देखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ।
गत सालको संस्करणमा पनि ‘पार्टनर बाइ’को रूपमा सहभागी एनसेलले यसपटकको प्रतियोगितामार्फत नेपाली क्रिकेटको विकास र लोकप्रियता बढाउन योगदान पुर्याउने जनाएको छ।
एनसेलका प्रमुख उपभोक्ता तथा व्यवसायिक अधिकारी उपङ दत्तले भने, “हालैका टी–ट्वान्टी प्रदर्शनले सबै नेपालीलाई गौरवान्वित बनाएको छ। क्रिकेट अब हाम्रो राष्ट्रिय गर्व मात्र होइन, हामी सबैलाई एकतामा बाँध्ने माध्यम बनेको छ। यस भव्य उत्सवमा ‘पार्टनर बाइ’का रूपमा सहकार्य गर्न पाउँदा हामी अत्यन्त खुसी छौं।”
उनका अनुसार फ्यानहरू जहाँ भए पनि एनसेलको कन्टेन्ट प्लेटफर्म मार्फत खेलको हरेक क्षणसँग जोडिरहने सुविधा उपलब्ध हुनेछ।
यस्तै क्यानका सचिव पारस खड्काले भने, “क्रिकेटको विकासका लागि एनसेलको निरन्तर सहयोग प्रशंसनीय छ। एनसेलजस्ता साझेदारहरूले नेपाली क्रिकेट र एनपीएललाई विश्वसामु चिनाउन महत्वपूर्ण भूमिका खेलिरहेका छन्।”
एनसेलले आफ्नो स्थापना कालदेखि नै नेपालमा खेलकुद र प्रतिभा विकासमा निरन्तर योगदान दिँदै आएको छ। कम्पनीले क्रिकेट, फुटबल, भलिबल, गल्फलगायत खेलका साथै पारा–खेलाडीहरूलाई पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सहयोग गर्दै आएको छ।
आफ्ना ग्राहकहरूका लागि एनसेल एपमार्फत जहाँ भए पनि लाइभ एनपीएल खेलहरू हेर्न सकिने सुविधा पनि उपलब्ध गराउने एनसेलले जनाएको छ।
