उप–प्राध्यापक गोविन्द राज उपाध्यायलाई “एक्सिलेन्ट एक्याडेमिक अफ दि इयर अवार्ड” प्रदान
धनगढी २२ कार्तिक । अर्थशास्त्रका उप–प्राध्यापक गोविन्द राज उपाध्यायलाई “एक्सिलेन्ट एक्याडेमिक अफ दि इयर अवार्ड” प्रदान गरिएको छ। यो सम्मान भारतको Research Education Solutions र IDream Management & Nursing College, उडिसा, द्वारा संयुक्त रूपमा आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलनमा प्रदान गरिएको हो।
उक्त सम्मेलन “बहुविषयक शैक्षिक क्षेत्रहरूको समागम: एकीकृत अनुसन्धानमार्फत ज्ञानको प्रगतिः” शीर्षकमा सम्पन्न भएको थियो। कार्यक्रममा उपाध्यायले “नेपालका पारिस्थितिकी सेवाहरूको आर्थिक मूल्याङ्कन र संरक्षण: घोडाघोडी ताल, नेपालबाट प्राप्त प्रमाणहरू” शीर्षकमा आफ्नो अनुसन्धानपत्र प्रस्तुत गर्नुभएको थियो।
उपाध्याय हाल कैलाली स्थित ऐश्वर्य बहुमुखी क्याम्पसमा व्यवस्थापन संकायको अर्थशास्त्र विषयमा उप–प्राध्यापकको रूपमा कार्यरत हुनुहुन्छ। उहाँ अर्थशास्त्रमा एम.फिल (दर्शनाचार्य) हुनुहुन्छ र भारतको रोहिलखण्ड विश्वविद्यालयबाट पि.एच.डी. गर्दै हुनुहुन्छ। यस सम्मानले उहाँको शैक्षिक योगदान, अनुसन्धानप्रतिको लगाव र शैक्षिक उत्कृष्टतालाई उच्च सम्मान दिएको बताइएको छ।
उपाध्यायले आफ्नो उपलब्धि आफ्ना विद्यार्थी र शैक्षिक यात्राप्रति समर्पित गर्दै यसले आफूलाई अझ प्रेरित बनाएको प्रतिक्रिया व्यक्त गर्नुभएको छ।
