कांग्रेस नेता अफताव आलमको निधन
काठमाडौं : नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधन भएको छ। रौतहटको राजपुर बमकाण्डका घाइतेलाई इँटाभट्टामा जलाएर मारेको अभियोगमा जन्मकैदको सजाय पाएका आलमको शनिबार बिहान २ बजे निधन भएको हो।
उच्च रक्तचाप र मधुमेहजस्ता समस्याबाट पीडित उनको काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा विगत एक महिनादेखि उपचार भइरहेको थियो। अस्पतालका सञ्चालक डा. सुनिल शर्माका अनुसार, स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि आलमलाई पछिल्लो एक सातादेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। उपचारकै क्रममा उनको निधन भएको हो।
आलमलाई २०६४ चैत २७ गते पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजपुरमा भएको बम विस्फोटका घाइते त्रिलोकप्रताप सिंह (पिन्टु) र ओसी अख्तरलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको अभियोगमा रौतहट जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो।
गत जेठ १४ गते अदालतको फैसलापछि कारागारमुक्त भएका उनलाई त्यसलगत्तै ‘ब्रेन स्ट्रोक’ भएको थियो। विसं २०५१ को उपनिर्वाचनबाट पहिलो पटक सांसद बनेका आलमले आफ्नो राजनीतिक जीवनमा पटक-पटक मन्त्री बन्ने अवसर पाए। उनी २०५४ मा श्रम राज्यमन्त्री, २०५५ मा वन राज्यमन्त्री तथा पछि भूमि सुधार र श्रम तथा यातायात मन्त्रीसमेत बनेका थिए।
उनी २०५६ सालको संसदीय निर्वाचन र २०६४ को पहिलो संविधानसभा निर्वाचनमा पनि विजयी भएका थिए। आलम विसं २०६७ मा सम्पन्न कांग्रेसको १२औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। स्वर्गीय आलमका दुई छोरा र एक छोरी छन्।
