आन्दोलनरत फुटबल खेलाडीलाई एनएनआईपीएको समर्थन
काठमाडौँ। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए)ले आन्दोलनमा उत्रिएको नेपाल फुटबल खेलाडी संघलाई समर्थन गर्ने भएको छ। एनएनआईपीएका अध्यक्ष दीपक श्रेष्ठले खेल्न पाउने अधिकार सुनिश्चितता गर्न माग गर्दै आन्दोलनमा उत्रिएको संघलाई समर्थन गर्ने जानकारी दिएका हुन्।
‘खेल्न पाउनु खेलाडीको अधिकार हो भने खेल आयोजना गर्नु सम्बन्धित संघको दायित्व हो। फुटबल खेलाडीले आफ्नो हकका लागि सञ्चालन गर्ने सबै प्रकारका आन्दोलन र विरोध कार्यक्रममा संघ एकताबद्ध रूपमा साथ रहने,’ एनएनआईपीएले भनेको छ।
‘ए’ डिभिजन लिग सम्पन्न भएको करिब डेढ वर्ष बितिसक्दा पनि नयाँ संस्करण सुरु हुन नसकेको भन्दै बिहीबार खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यालयअगाडि प्रदर्शन गरेको थियो। उनीहरूले एक साताभित्र लिगको खाका तयार नपारे अझ कडा संघर्षमा उत्रिने चेतावनी दिएका छन्।
गत सोमबार एन्फा पदाधिकारी र ‘ए’ डिभिजन क्लबका अध्यक्षबीचको बैठकले ३ पुस २०८३ देखि लिग सञ्चालन गर्ने सहमति गरेको थियो। त्यसअनुसार चार वर्षपछि मात्र लिग सुरु हुने सम्भावना देखिएको छ। यत्रो समय लिग रोकिँदा सयभन्दा बढी खेलाडी रोजगारीका लागि बिदेसिन बाध्य भएको एनएनआईपीएको भनाइ छ।
