जनताको आशा र भरोसाको केन्द्र बन्नेछौं: माधव नेपाल
नवगठित एकीकृत कम्युनिष्ट पार्टीका सह-संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विभिन्न कम्युनिष्ट घटकहरूको एकतासँगै पार्टीको वास्तविक अग्निपरीक्षा सुरु भएको बताएका छन्।
उनले यो एकता केवल पुरानै पार्टीको नयाँ रूप हो वा साँच्चै नयाँ चरित्र बोकेको पार्टी हो भन्ने कुरा जनताले सुक्ष्म रूपमा नियालिरहेको भन्दै अब कामबाटै विश्वास जित्नुपर्नेमा जोड दिए।
बुधबार कम्युनिष्ट घटकहरूको एकता घोषणा सभालाई सम्बोधन गर्दै नेता नेपालले यो ऐतिहासिक एकताले सिङ्गो नेपाली राजनीतिमा एउटा तरंग पैदा गरेको सुनाए।
‘आजको यो कार्यक्रमले, यो राष्ट्रिय एकता सम्मेलनले, नयाँ पार्टीको घोषणाले सिङ्गो नेपाली राजनीतिमा एउटा तरंग पैदा गर्ने मैले देखेको छु,’ नेता नेपालले भने, ‘हामी नेपाली जनताको आशा र भरोसाको केन्द्र बन्नेछौँ। त्यसैले हाम्रो अग्निपरीक्षा अब सुरु हुनेछ।’
नेता नेपालले जनताले पार्टीलाई गहिरो निगरानीमा राखेको भन्दै अब पुरानै गल्ती दोहोर्याउने छुट नभएको बताए।
‘जनताले हामीलाई नियालिरहेका छन्,’ उनले भने, ‘यो पुरानै पार्टीको नयाँ रूप हो या साँच्चै नयाँ चरित्र बोकेको पार्टी बनेको हो ? जनताको मनमा यो जिज्ञासा रहेको छ। त्यसैले जनतालाई हामीले विश्वास दिलाउन सक्नुपर्छ।’
उनले विगतका आफ्नै पार्टीहरूमा रहेका कमी-कमजोरीबाट मुक्त भएर, त्यसको समीक्षा गरेर र त्यसलाई सुधारेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।
उनले यो एकताको अभियानमा सामेल हुन बाँकी रहेका अन्य वामपन्थी घटकहरूलाई पनि ढिला नगरी जनताको आवाज बुझ्न र एकीकृत हुन आग्रह गरे।
‘अब ढिला नगर्नुहोस्, समयको आवाजलाई बुझ्नुहोस्, जनताको चाहनालाई बुझ्नुहोस्। उनीहरू एकीकृत कम्युनिष्ट पार्टी खोजिरहेका छन्,’ उनले भने।
नेता नेपालले आफ्नो सम्बोधनमा देशका सबै देशभक्त, संविधान र गणतन्त्र पक्षधर शक्तिहरूलाई गोलबन्द गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
उनले देश असाधारण, असहज र भयपूर्ण परिस्थितिबाट गुज्रिरहेको भन्दै यस्तो अवस्थामा सबै मिलेर देशलाई सही निकास दिनुपर्नेमा जोड दिए।
