पारिवारिक कथावस्तुमा फिल्म ‘हर्ष’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक
                                 काठमाडौं । एकता पौडेल निर्देशित फिल्म ‘हर्ष’ को ट्रेलर युट्यूबमा सार्वजनिक भएको छ ।
मंगलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा पारिवारिक कथावस्तुमा आधारित फिल्मको ट्रेलर प्रदर्शन गरियो ।
ट्रेलरले कथावस्तु, चरित्र चित्रण लगायतका पक्षमा प्रकाश पारेको छ । छोराको विवाहपछि एक परिवारमा आउने उतारचढावको संक्षिप्त कथावस्तु ट्रेलरमा देखाइएको छ ।
कार्यक्रममा निर्देशक पौडेलले नेपाली फिल्ममा पारिवारिक कथाको ट्रेण्ड घट्दै गएकाले पनि आफूले यो विधा रोजेको बताइन् । उनी दिवंगत निर्देशक शिव रेग्मीकी भान्जी हुन् ।
अमेरिकाको न्यूयोर्क फिल्म एकेडेमीमा फिल्म निर्माण अध्ययन तथा आमसंचारमा स्नातक र व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी निर्देशक पौडेलले यसअघि छोटा फिल्म निर्देशन गरेकी थिइन् ।
फिल्ममा खगेन्द्र लामिछाने, वर्षा राउत, नीर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, खगेन्द्र, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, सृष्टि महर्जन, सिर्जना नापितको अभिनय छ ।
आलोक शुक्लाको छायांकन, समीर र हिमाल, वसन्त सापकोटा तथा एलिस कार्कीको संगीत, लोकेश बज्राचार्यको सम्पादन, सुनिल क्षेत्री र निर्देशक पौडेलको नृत्य निर्देशन छ ।
अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राईम मूभिजको ब्यानरमा निर्माण भएको फिल्मको कथा स्वयं निर्देशक पौडेलको हो । प्रसन्न पौडेल र विकास पौडेल निर्माता तथा हिक्मत चोखाल कार्यकारी निर्माता हुन् ।
