११ राजदूतलाई नेपाल फर्कन सरकारले गर्याे पत्राचार
                                 काठमाण्डौ – राजदूतलाई फिर्ता बोलाउने अन्तरिम सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरे पनि सरकारले उनीहरुलाई नेपाल बोलाएको छ । परराष्ट्र मन्त्रालयले उनीहरूलाई नेपाल बोलाएर मन्त्रालयमा हाजिर गराउने भनी पत्र पठाएको हो ।
अस्ति आइतवार सर्वोच्च अदालतले राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्नु भनी अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्चले सरकारको निर्णय कार्यान्वयनमा रोक लगाएपछि हिजो प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीस्तरीय निर्णयबाट नेपाल फर्कन पत्र पठाइएको हो ।
परराष्ट्र मन्त्रालयका सहसचिव सुरेन्द्रकुमार यादवले लेखेको पत्रमा यही २० गते बिहीवारभित्र मन्त्रालयको सम्पर्कमा आइपुग्न भनिएको छ । अर्को व्यवस्था नभएसम्म परराष्ट्र मन्त्रालयमा हाजिर हुनेगरी आउन पत्राचार गरिएको हो ।
मन्त्रिपरिषद्को असोज ३० गते बसेको बैठकले चीन, जर्मनी, मलेसिया, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका लागि नेपाली आवासीय राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।
