चारवटै सुरक्षा निकायको एकीकृत कार्यदल

द एभरेष्ट पोष्ट
१९ कार्तिक २०८२ ७:०४
चारवटै सुरक्षा निकायको एकीकृत कार्यदल

काठमाडौँ — आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा चुनावका लागि एकीकृत सुरक्षा योजना बनाउन नेपाली सेनाको नेतृत्वमा संयुक्त कार्यदल गठन भएको छ । नेपाली सेनाका सहायक रथीको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि सम्मिलित कार्यदल बनेको हो । संयुक्त कार्यदललाई निर्वाचनसँग सम्बन्धित एकीकृत सुरक्षा कार्ययोजनाको मस्यौदा निर्माण गर्न कार्यादेश दिइएको छ ।

सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार कार्यदलले निर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने सुरक्षा व्यवस्थापन, जनशक्ति परिचालनसहितको सम्पूर्ण खाका बनाउनेछ ।

‘निर्वाचन सुरक्षा व्यवस्थापन कार्यविधि २०७८ अनुसार एकीकृत सुरक्षा तदर्थ समिति बनेको छ, यसले निर्वाचन सुरक्षाका लागि चाहिने खाका तयार पारी सम्बद्ध निकायमा पेस गर्छ,’ प्रवक्ता बस्नेतले भने, ‘त्यसपछि निर्वाचन सुरक्षार्थ जनशक्तिहरू सोहीअनुसार परिचालन हुनेछन् ।’

कार्यदल गठनका लागि सेनाले प्रहरी, सशस्त्र र अनुसन्धान विभागलाई प्रतिनिधि पठाउन पत्राचार गरिसकेको छ । सोही पत्राचारबमोजिम प्रहरीले कार्य विभागका एसएसपी वसन्त रजौरे र सशस्त्र प्रहरीले कार्य विभागकै एसएसपी राजेश उप्रेतीलाई खटाएको छ ।

निर्वाचनमा सेना, प्रहरी र सशस्त्र कुन कुन ‘लेयर’ मा परिचालन गर्ने ? यसका लागि आवश्यक समन्वय कुन रूपमा गर्ने ? हिमाली, पहाडी र तराई तथा उपत्यकालाई सुरक्षा चुनौतीका आधारमा कुन रूपमा वर्गीकरण गर्ने ? सुरक्षा चुनौतीका आधारमा मतदान स्थलदेखि जिल्लाको सुरक्षा अवस्थालाई कुन रूपमा मूल्यांकन गर्ने ? म्यादी प्रहरी कति संख्यामा भर्ना र यसलाई कसरी व्यवस्थापन गर्ने भन्नेदेखि मतदाता, उम्मेदवार, निर्वाचनमा खटिने कर्मचारी, मतपत्र र मतपेटिका ढुवानीलगायतको सुरक्षामा कसरी सुरक्षा व्यवस्थापन गर्नेलगायत खाका पनि कार्यदलले तयार पार्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस