जेन-जी आन्दोलनमा मारिएकामध्ये ४५ जनालाई सरकारले गर्‍यो शहीद घोषणा

द एभरेष्ट पोष्ट
१८ कार्तिक २०८२ १७:४२
जेन-जी आन्दोलनमा मारिएकामध्ये ४५ जनालाई सरकारले गर्‍यो शहीद घोषणा

काठमाडौं । सरकारले जेन-आन्दोलनका क्रममा मृत्यु भएकामध्ये ४५ जनालाई शहीद घोषणा गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले ४५ जनालाई राज्यका तर्फबाट शहीद घोषणा गर्ने निर्णय गरेको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।

उनले भने, ‘राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणका माग राखी जेन-जी पुस्ताद्वारा भदौ २३-२४ गरिएको प्रदर्शनको क्रममा काठमाडौं लगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जना लाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय भएको छ ।’

गृहमन्त्रालय लगायत सरोकारवाला निकायबाट गरिएको अध्ययनपछि अहिले ४५ जनालाई शहीद घोषणा गरिएको भन्दै खरेलले थपको सन्दर्भमा अझै अध्ययन जारी रहेको बताए ।

यसअघि नेपाली सेनाले जेन-जी आन्दोलनका क्रममा मारिएका ७६ जनामध्ये ४१ जनालाई अन्यको सूचीमा राख्दै मृत्युको कारणमा प्रश्न उठाएको थियो ।

सेनाको आधिकारिक तथ्यांकमा २२ जना प्रदर्शनकारी, ३ जना प्रहरी र १० जना कैदीको ज्यान गएको उल्लेख छ । ४१ जनालाई भने अन्य भनिएको छ ।

जेनजी आन्दोलनका क्रममा प्रहरीको गोलीबाट २२ जनाको मृत्यु हुँदा जेलबाट भाग्ने क्रममा १० जना कैदी बन्दी मारिएको विवरण सेनाले सार्वजनिक गरेको थियो । आन्दोलनकारीबाट मारिएका ३ जना प्रहरीबाहेक अन्य ४१ जना भने लुटपाट र आगजनी तथा आफैँले लगाएको आगो सल्किएर मृत्यु भएको हुनसक्ने आशंका छ ।

भाटभटेनीमा जल्ने तथा विभिन्न व्यक्तिका घरमा आगजनीका क्रममा जलेकाहरूलाई सेनाले अन्यको सूचीमा राखेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

आजदेखि मौसम खुल्दै जाने

१७ कार्तिक २०८२ ७:४५

खोज्नुहोस