सुदूरपश्चिममा विकास खर्च एक प्रतिशत मात्रै
कैलाली – सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष ०८२/८३ को पहिलो तीन महिनामा पुँजीगत खर्च एक प्रतिशत मात्र गर्न सकेको छ ।
जेनजी आन्दोलन लगायतका कारण कारणले मन्त्रालयहरुले पुँजीगत कार्यक्रम कार्यान्वयनका लागि आवश्यक कार्यविधि तयार गर्न नसक्दा असोज मसान्तसम्म पुँजीगत खर्च न्यून रहेको मन्त्रालयका अधिकारीहरुले बताएका छन् । विकास बजेटमा भएको एक प्रतिशत खर्च पनि गत आर्थिक वर्षमा भएको कामको बाँकी रहेको भुक्तानी रकम हो ।
प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार तीन महिनाको यस अवधिमा १९ करोड ८० लाख २९ हजार ८२५ रुपैया मात्रै पुँजीगत खर्च भएको छ । यो अवधिमा चालुतर्फ एक अर्ब १८ करोड ७८ लाख २९ हजार ६७५ अर्थात ९ प्रतिशत खर्च भएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षमा चालुतर्फ १३ अर्ब ५२ करोड ६१ लाख र पुँजीगततर्फ १९ अर्ब ८२ करोड ५२ लाख ६ हजार विनियोजन गरेको छ ।
कुल ३३ अर्ब ३६ करोड १३ लाख ६ हजार बजेटमा कुल खर्च भने ४ प्रतिशत रहेको छ । उक्त रकम एक अर्ब ३८ करोड ५८ लाख ५९ हजार ५सय हो ।
सबैभन्दा बढी बजेट रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयको खर्च सबैभन्दा कम १.६३ प्रतिशत मात्र छ । उक्त मन्त्रालयमा १५ अर्ब ३२ करोड १७ हजार विनियोजन भएकामा २५ करोड एक लाख २१ हजार ४४० मात्र खर्च भएको छ । सो मन्त्रालयले पुँजीगततर्फ १४ अर्ब ७० करोड ९१ लाख ५३ हजार विनियोजन गरेकामा १६ करोड एक लाख ९७ हजार मात्र खर्च गरेको छ । चालुतर्फ ६१ करोड ८ लाख ६४ हजार विनियोजन रहेकामा आठ करोड ९९ लाख २३ हजार ७३४ खर्च छ ।
मन्त्रालयका निमित्त सचिव मोहन कुँवरले भौतिक पूर्वाधार विकास मन्त्रालयमा अधिकांश नयाँ योजना रहेकाले अध्ययन गर्न नै समय लाग्ने भएको हुनाले यसवर्ष पुँजीगत काम कम भएको बताए ।
दोस्रो धेरै बजेट विनियोजन भएको मन्त्रालय सामाजिक विकास मन्त्रालय हो । उक्त मन्त्रालयको कुल बजेट ६ अर्ब ९४ करोड पाँच लाख ५५ हजार छ । जसमध्ये ४७ करोड ९२ लाख ९ हजार ७५१ (६.९० प्रतिशत) खर्च गरेको छ ।
तीन महिनाको अवधिमा सामाजिक विकास मन्त्रालयले चालु खर्च ११.४६ प्रतिशत र पूँजीगत खर्च ०.५९ प्रतिशत खर्च रहेको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा कुल बजेट तीन अर्ब २९ करोड ७० लाख विनियोजन भएकोमा ३.३४ प्रतिशत खर्च गरेको छ ।
विकासे मन्त्रालयहरुमा सबैभन्दा बढी ६.५७ प्रतिशत बजेट खर्च उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको छ । कुल बजेट दुई अर्ब ३३ करोड ४० लाख ९४ हजार रहेकामा कुल खर्च १५ करोड ३३ लाख ९६ हजार ९४८ छ ।
