नाइजेरियामा आक्रमणका लागि तयार रहन ट्रम्पको निर्देशन

द एभरेष्ट पोष्ट
१८ कार्तिक २०८२ १३:२०
नाइजेरियामा आक्रमणका लागि तयार रहन ट्रम्पको निर्देशन

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाइजेरियामा आक्रमणका लागि तयार रहन रक्षा विभागलाई आदेश दिएका छन् । इसाई धर्मावलम्बीमाथि भएको हिंसाविरुद्ध ठोस कदम चाल्न नसकेको भन्दै उनले नाइजेरियाको आलोचना गरेका हुन् ।

यद्यपि, नाइजेरियाले यस आरोपलाई खण्डन गर्दै आएको छ । ट्रम्पले इसाईहरूको ‘सामूहिक हत्या’ भएको आरोप लगाएका छन् । त्यस्तै, उनले नाइजेरियालाई अमेरिकाले प्रदान गर्दै आएका सबै सहायता रोक्न सकिने चेतावनी पनि दिएका छन् । उनले यस्तो हिंसात्मक गतिविधिमा इस्लामिक आतंकवादी समूहहरू संलग्न रहेको आरोप लगाएका छन् । २३ करोड जनसङ्ख्या रहेको नाइजेरियामा कट्टरपन्थी इस्लामिक समूहले गरेका आक्रमणमा इस्लाम र इसाई दुवै धर्मावलम्बी निशानामा पर्दै आएका छन् ।

‘म हाम्रो विभागलाई सम्भावित कदमका लागि तयार रहन निर्देशन दिन्छु,’ ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यदि हामीले आक्रमण गर्‍यौं भने यो निकै तीव्र, चाँडो र सटीक हुनेछ-आतंकवादी ठगहरूले हाम्रा क्रिस्चियनमाथि गरेको आक्रमण जस्तै । चेतावनीः नाइजेरिया सरकारले तत्काल कदम चालोस् ।’

ट्रम्पको यस पोस्टलाई स्क्रिनसट गरेर अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले कमेन्ट गरेका छन्, ‘यस सर ।’ उनले थपेका छन्, ‘नाइजेरिया र अन्यत्र पनि निर्दोष क्रिस्चियनमाथिको हत्या तत्काल बन्द हुनुपर्छ । रक्षा विभाग ठोस कदम चाल्ने तयारीमा छ । या त नाइजेरिया सरकारले ईसाईको सुरक्षा गर्छ, वा हामी यस्ता भयानक कार्य गर्ने इस्लामिक आतंकवादीलाई मार्नेछौं ।’

नाइजेरियाका राष्ट्रपति बोला अहमद तिनुबुले नाइजेरियाको धार्मिक दंगामा सरकारको संलग्नता नरहेको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नाइजेरियाले अमेरिका र सबै अन्तर्राष्ट्रिय समुदायसँग सबै समुदायका मानिसहरूको आस्थालाई संरक्षण गर्नेगरी सहकार्य गरिरहेको छ ।’

तिनुबुका प्रेस सचिव बायो ओनानुगाले नाइजेरियामा कुनै एक पक्षलाई मात्रै निशाना बनाइएको भन्ने आरोप अतिरञ्जित प्रचारबाजी भएको बताएका छन् । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ‘हजारौं इसाईको हत्या भएको’ आरोप लगाएपछि जवाफमा उनले लेखेका छन्, ‘इसाई, मुस्लिम, चर्च र मस्जिद- सबैतिर आक्रमण भइरहेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

आजदेखि मौसम खुल्दै जाने

१७ कार्तिक २०८२ ७:४५

खोज्नुहोस