ठप्प सवारी लाइसेन्सको सेवा आंशिक खुला

द एभरेष्ट पोष्ट
१८ कार्तिक २०८२ ७:४५
ठप्प सवारी लाइसेन्सको सेवा आंशिक खुला

काठमाडौं १७ कार्तिक । जेन–जी आन्दोलनका कारण यातायात व्यवस्था विभागमातहतका संरचनामा भएको क्षतिपछि रोकिएको सवारी लाइसेन्स सेवा आंशिक रूपमा खुला गरिएको छ । विभागले आइतबार सूचना जारी गर्दै उपत्यकाका चार कार्यालयबाट लाइसेन्स सेवा आंशिक खुला भएको जनाएको छ । सम्भवतः सोमबारदेखि उपत्यकाका कार्यालयहरूले नयाँ लाइसेन्सको आवेदन खुलाउनेछन् ।

विभागका सूचना प्रविधि शाखा प्रमुख (निर्देशक) केशव खतिवडाले पहिलो चरणमा काठमाडौं उपत्यकाका चार कार्यालय (एकान्तकुना, राधेराधे, चाबहिल र सानो भ¥याङ)बाट आंशिक सेवा सुरु भएको बताए । उनले आगामी दिनमा क्रमशः अन्य कार्यालयबाट पनि सेवा विस्तार गरिने जनाएका छन् ।

विभागको सूचनाअनुसार हाललाई नयाँ लाइसेन्सका लागि आवेदन दिने र पुरानो लाइसेन्स नवीकरण गर्न पाउने सेवा सुरु भएको छ । यसबाहेक सवारी दर्ता र नवीकरणका साथै राजस्व भुक्तानीको सेवासमेत सुरु भएको विभागले जनाएको छ । विभागले नयाँ प्रविधिमा आधारित भएर सवारी दर्ता तथा नवीकरण र इम्बोस्ड नम्बर प्लेटसम्बन्धी सेवाबारे भने निर्णय गरेको छैन ।

‘कात्तिक १६ देखि काठमाडौं उपत्यकाका यातायात व्यवस्था कार्यालयहरूबाट विद्युतीय सवारीचालक अनुमतिपत्र र सवारी दर्ता सेवा आंशिक रूपमा सञ्चालन भएको व्यहोरा जानकारी गराउँछौँ,’ विभागको सूचनामा छ, ‘अन्य यातायात व्यवस्था कार्यालयहरूमा विद्युतीय सवारीचालक अनुमतिपत्र र सवारी दर्ता प्रणाली सञ्चालन गर्नका लागि प्रणाली परीक्षणको कार्य भइरहेको हुँदा क्रमशः अन्य कार्यालयहरूबाट समेत छिट्टै प्रणाली सञ्चालन गरिने व्यहोरो जानकारीका लागि अनुरोध छ ।’

२३ र २४ भदौको जेन–जी आन्दोलनका क्रममा मीनभवनस्थित कार्यालयमा भएको तोडफोड तथा आगजनीका कारण विभागको सर्भर पूर्ण क्षति भएको थियो । साथै, लाइसेन्स छाप्ने मास प्रिन्टर पनि क्षतिग्रस्त भएको छ । त्यसपछि विभागले २९ भदौदेखि लाइसेन्सको छपाइ तथा वितरणसम्बन्धी सेवा अनिश्चितकालीन रूपमा बन्द भएको जनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

आजदेखि मौसम खुल्दै जाने

१७ कार्तिक २०८२ ७:४५

खोज्नुहोस