धनगढीमा सामाजिक अभियन्ता राजु सिंह खड्काको आमरण अनशन
धनगढी : देश विदेशी ऋणबाट समाप्त हुने भन्दै सामाजिक अभियन्ता राजु सिंह खड्काले धनगढीमा आमरण अनशन सुरु गरेका छन्। भिमदत्त नगरपालिका–५, कञ्चनपुरका ६७ वर्षीय खड्काले आज दिउँसोदेखि धनगढी उपमहानगरपालिका–१ स्थित पार्क मोड, जेन जी मार्ग नजिकै सत्याग्रह धर्ना तथा आमरण अनशन सुरु गरेका छन् ।
‘यो देश ऋणमै डुब्ने अवस्थामा पुगेको छ। विदेशी ऋणबाट होइन, आफ्नै स्रोतसाधन जुटाएर देश चलाउनुपर्छ,’ खड्काले ब्यानरमा लेखेका छन् । उनले धोस्त भएका संरचना पुनर्निर्माण र निर्वाचनका लागि विदेशी ऋण नलिन, सम्पत्ति शुद्धिकरणमार्फत भ्रष्टाचारिहरुको सम्पत्ति राष्ट्रियकरण गर्न र नेपालभित्रैबाट चन्दा संकलन गरी संरचना निर्माण तथा निर्वाचन सम्पन्न गर्न माग गरेका छन्।
उनले देशमा शिक्षा, स्वास्थ्य, रोजगार र शान्ति सुशासन कायम गर्न माग गर्दै नेपाल सरकार र सम्पूर्ण नेपाली जनताको ध्यानाकर्षण गराएका छन्। सातै प्रदेशमा यसरी नै सत्याग्रह गर्ने योजनाअनुसार खड्काले यसअघि कञ्चनपुरमा कात्तिक १२ देखि १४ गतेसम्म तीन दिनको अनशन बसेका थिए। त्यसपछि कैलालीमा कात्तिक १५ देखि १७ गतेसम्म तीन दिनको धर्ना तथा आमरण अनशन बस्ने र त्यसपश्चात कर्णाली प्रदेशमा जाने कार्यक्रम रहेको उनले बताएका छन्।
अनशनका क्रममा उनले सोही स्थानमै बस्ने र सुत्ने योजना बनाएका छन्।
