जाडो छल्न आउन थाले हिउँदे आगन्तुक चरा

द एभरेष्ट पोष्ट
१६ कार्तिक २०८२ १५:१०
जाडो छल्न आउन थाले हिउँदे आगन्तुक चरा

धनगढी । उत्तरी ध्रुवको चिसो छल्न हिउँदे आगन्तुक चरा कैलाली, कञ्चनपुरमा रहेका सिमसारमा आउन थालेका छन् । जाडो याममा त्यहाँको भन्दा यहाँ तुलनात्मक रुपमा बढी तापक्रम हुनेगरेका कारण साइबेरिया, मंगोलिया, रसियालगायतका देशबाट हिउँदे आगन्तुक जलपन्छी आउन थालेका हुन् ।

कैलालीको घोडाघोडी, कर्णाली नदीको तल्लो तटीय क्षेत्र, जाखोर ताल, कोइलही ताललगायतका सिमसारमा विभिन्न प्रजातिका हिउँदे आगन्तुक जलपन्छी पुगिसकेका छन् ।  यसैगरी कञ्चनपुरको बेलौरीस्थित पुरैनी ताल, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेको विभिन्न तालहरुमा जाडो छल्नका लागि हिउँदे आगन्तुक चरा आइपुगेको चराविद हिरुलाल डङ्गौराले जानकारी दिए।

उनका अनुसार उत्तरीध्रुवमा अत्यधिक हिउँ परेर खान, बस्नको समस्या हुनेगरेका कारण हिउँदे आगन्तुक चरा जाडो याममा यहाँको सिमसारमा आउनेगरेका छन् । जाडो याममा मालक हाँस, हरियो टाउके हाँस, कालीजुरे हाँस, श्वेताँखीभौं, सुइरेपुच्छ्रे हाँस, खरखरे हाँस, कल हाँस, सुनजुरे हाँस ठुलो जलेवा, चखेवा लगायतका आगन्तुक चरा नेपालका सिमसारमा आउने गरेका छन् ।

“चिसो हुन थालेपछि अक्टोबर सुरुबाट आगन्तुक चरा यहाँका सिमसार क्षेत्रहरुमा आइ पुगेका छन्” डङ्गौराले भने, “अबको झन्डै छ–सात यतै बसाइँ हुनेछ ।” आगन्तुक चरा आएपछि सिमसारमा रौनक थपिएको छ । विभिन्न प्रजातिका चराको आवाजले नदीनाला तथा तालतलैया गुल्जार बनेका छन् ।

यहाँ आएका चराहरु मार्च, अप्रिलतिर पुनः आफ्नो थातथलोतिर फर्कने गरेका छन् । हिउँद याममा हरेक वर्ष आगन्तुक जलपन्छीको गणना हुने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस