‘भ्वाइस’ को सातौं सिजनमा हेर्न पाइने नयाँ नियम ‘सुपर-ब्लक’ के हो ?

द एभरेष्ट पोष्ट
१५ कार्तिक २०८२ १३:४५
‘भ्वाइस’ को सातौं सिजनमा हेर्न पाइने नयाँ नियम ‘सुपर-ब्लक’ के हो ?

काठमाडौं । लोकप्रिय सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को सातौं सिजन आज शुक्रबारदेखि प्रसारण सुरु हुँदैछ । हरेक नयाँ सिजन नयाँ नियम र नयाँ प्रतिस्पर्धीको कारण दर्शकमाझ प्रतीक्षित बन्ने गर्छ ।

यस सिजनमा शो निर्माताले एक नयाँ नियम लागू गर्दैछन् । त्यो हो- ‘सुपर-ब्लक’ । केही सिजनयता भ्वाइसमा हामीले ‘ब्लक’को नियम हेर्दै आएको हो । ब्लकजस्तै देखिने तर केही भिन्न ‘सुपर-ब्लक’ के हो ?

ब्लक’ नियम अन्तर्गत कुनै कोचले आफ्नो प्रतिस्पर्धी कोचलाई विशेषाधिकार प्रयोग गरी कुनै प्रतिभाशाली गायक/गायिकालाई आफ्नो टिममा लिनबाट रोक्न सक्थे । तर नयाँ सिजनमा यो नियमलाई थप परिमार्जन गर्दै ‘सुपर-ब्लक’ नाम दिइएको छ ।

‘सुपर-ब्लक’ लागू भएपछि, अब कुनै कोचले आफ्नो विशेषाधिकार प्रयोग गरेर अर्को कोचलाई कुनै प्रतिभाशाली गायक/गायिकालाई आफ्नो टिममा लिनबाट रोक्ने मात्र हैन, कुर्सी उल्टो घुमाइदिएर प्रतिस्पर्धी छनोटमा रोक लगाउन सक्ने छन् ।

पहिलो एपिसोडमै यो नयाँ नियम लागू भएको देखियो । दर्शकले सातौं सिजनको पहिलो एपिसोडमा यो दृश्य हेर्न पाउनेछन् ।

पहिलो एपिसोडमा कोच राजु लामाले कोच मेलिना राईलाई ‘सुपर-ब्लक’ गरेका छन् । तर, यो सुपर-ब्लक नियोजित नभएर झुक्किएर भएको र आफ्नो विशेषाधिकार खेर गएको प्रष्टीकरण राजुले दिएका छन् ।

बिहीबार आइएनआई सिनेमाजको जमलस्थित विश्वज्योती हलमा आयोजित प्रिमियर समारोह बाहिर पनि पत्रकारले कोच राजुलाई यही प्रश्न सोधेका थिए । जहाँ, उनले बटनको सेन्सर जडान गरिएकाले कुहिनाले छोइएर सुपर–ब्लक भएको बताएका थिए ।

यो ‘सुपर–ब्लक’ को नियम एक एपिसोडमा कुनै पनि कोचले एक पटक मात्र प्रयोग गर्न पाउने छन् । ‘द भ्वाइस अफ नेपाल’ सातौं सिजन हिमालय टिभीमा प्रत्येक शुक्रबार र शनिबार राती ८ बजेदेखि प्रसारण हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस