अशोक दर्जी अभिनित ‘मनबिनाको धन’को ट्रेलर सार्वजनिक

द एभरेष्ट पोष्ट
१३ कार्तिक २०८२ १५:३८
अशोक दर्जी अभिनित ‘मनबिनाको धन’को ट्रेलर सार्वजनिक

काठमाडौं । बालगायक अशोक दर्जीको जीवन कथामा आधारित फिल्म ‘मनबिनाको धन’को मर्मस्पर्शी ट्रेलर युट्युबमा सार्वजनिक भएको छ । सडकको किनारमा गीत गाउने सानो बालक, हातमा पुरानो माइकको सपना र आँखाभरि भविष्यको खोजी, यही कथा अब पर्दामा आउँदैछ ।

साँच्चै भन्नुपर्दा, यो केवल एउटा फिल्म होइन, बालगायक अशोक दर्जीको जीवन–यात्रा हो जो कहिल्यै हराइरहेको आवाजबाट देशको हृदयभित्र गुञ्जिन पुगेको छ ।

३ मिनेट १३ सेकेन्ड लामो ‘मनबिनाको धन’ को ट्रेलरले दर्शकको मन छोएको छ । ट्रेलरको सुरुमा सडकमा गीत गाउँदै बटुवासँग पैसा माग्ने सानो बालकको दृश्य देखाइएको छ । त्यसपछि कथा मोडिन्छ एउटा मनकारी व्यक्ति उनलाई हात थाम्छ, पढ्न सिकाउँछ र गायनको बाटोमा अघि बढ्न प्रेरित गर्छ । उनको गायन करिअरलाई पनि मलजल गर्छन् । समयको क्रममा उनले करिअरसँगै सांगीतिक सफलता पाउँछन् ।

यसबाहेक, काठमाडौंमा बसोबास गर्ने भुइँमान्छे र मध्यमवर्गीय पात्रको संघर्ष, सपना र पैसाका लागि विदेशिन बाध्य हुने पात्रको यथार्थ पनि देखाइएको छ ।

चर्चित संगीतकार समेत रहेका टङ्क बुढाथोकीको यो डेब्यू निर्देशकीय फिचर हो । उनकै कथा र संगीत निर्देशन समेत रहेको यो फिल्मको ट्रेलर कथावस्तुबारे संक्षिप्तरुपमा प्रकाश पारेको छ ।

अशोक दर्जीले आफूलाई सडकको संघर्षबाट उठाएर ‘हिरो’ बनाउने अवसर प्रदान गर्ने सम्पूर्ण दर्शक, समर्थक र शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गरे। “आज म जहाँ छु, यो सबै दाइ टंक बुढाथोकिको माया र सहयोगकै कारण सम्भव भएको हो” भावुक हुँदै उनले भने ।

फिल्ममा सरोज खनाल, नीता ढुंगाना, बुद्धि तामाङ, सन्तोष पन्त, भोलाराज सापकोटा लगायतको अभिनय छ । टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा फिल्मको निर्माण विष्णुमाया मैनालीले गरेकी हुन् । निर्माताले फिल्मलाई ‘हिरोदेखि जिरोसम्मको कथा’ भएको बताएका छन् ।

‘मनबिनाको धन’ फिल्म २१ कात्तिकदेखि प्रदर्शनको तयारीमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस