सुत्केरीको मृत्युपछि किष्टमा तनाव, अस्पतालभित्रै अश्रुग्यास र लाठीचार्ज
काठमाडौं । सुत्केरीको मृत्युपछि ललितपुरको इमाडोलमा रहेको किष्ट अस्पताल तनावग्रस्त बनेको छ ।
चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल परिसरमा प्रदर्शन गरेका छन् ।
प्रदर्शनका क्रममा मृतकका आफन्तले अस्पतालको गेट तोडेर प्रदर्शन गर्न थालेपछि प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको छ ।
प्रदर्शनका क्रममा आक्रोशित भिडले अस्पतालमा ढुंगामुढासमेत गरेको छ । सम्भावित घटनालाई मध्यनजर राखेर अस्पताल परिसरमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।
प्रदर्शनमा उत्रिएका मृतकका आफन्तले किष्ट अस्पताल बन्द गर, दोषीलाई कारबाही गर, मिनाश्री राईलाई न्याय दे लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।
प्रदर्शन उग्र बनेपछि प्रहरीले भिडलाई तितरवितर बनाउन केही राउन्ड आश्रुग्यास प्रहार र लाठीचार्ज गरेको हो ।
सुत्केरी गराउने क्रममा खोटाङको हलेसी तुवाचुङ नगरपालिका(९ की ३४ वर्षीया मिनाश्री राईको शुक्रबार राति मृत्यु भएको थियो ।
के भन्छन् मृतकका आफन्त ?
चिकित्सकले दिएको समयमै सुत्केरी गराउन मिनाश्री शुक्रबार बिहान ९ बजे किष्ट अस्पताल पुगेकी थिइन्
तर, साँझ साढे ५ बजेसम्म पनि मिनाश्रीलाई सुत्केरी बेथा नलागेको उनका दाजु देवेन्द्र राई बताउँछन् । तर राति साढे ९ बजेतिर एक्कासि इन्टर्नसिप गरिरहेका चिकित्सकले जबरजस्ती नर्मल डेलिभरी गराउँदा ब्लिडिङ नरोकिएर बहिनीको मृत्यु भएको देवेन्द्र बताउँछन् ।
आफूहरूसँग सल्लाह नै नलिई आफू खुसी इन्टर्नसिप गरिरहेका डाक्टरले सिकाइका लागि आफ्नो बहिनीलाई नर्मल डेलिभरी गराउँदा मिनाश्रीले ज्यान गुमाउनु परेको उनले दुखेसो पोखे ।
देवेन्द्रले भने, ‘मिनाश्रीले गर्भवती अवस्थामा नियमित किष्ट अस्पतालमै चेकअप गराएकी हुन् । उनी नियमित हेर्ने चिकित्सकको सल्लाहबमोजिम नै ९ कात्तिकमा डेलिभरी गराउन अस्पताल भर्ना भएकी हुन् । बहिनी र बच्चाको स्वास्थ्य अवस्था राम्रै थियो । तर बहिनी अस्पतालको चरम लापरबाहीको सिकार बन्न पुगिन् ।’
ओभर ब्लिडिङकै कारण बहिनीको मृत्यु भएको भन्दै देवेन्द्र भने, ‘हामीलाई झुक्याउन राति दुई पटकसम्म अस्पतालले अपरेसनको नाटक समेत गर्यो । यो त चरम लापरबाही होइन र रु’
बहिनीको अपरेसनमा पनि सिनियर चिकित्सकहरू सहभागी नभएको उनको आरोप छ । उनले भने, ‘ओभर ब्लिडिङ भइरहेको छ । पहिलो अपरेसनमा पनि ब्लिडिङ रोकिएन । फेरि अर्को अपरेसन गर्नुपर्छ भने । बहिनीको ज्यान बच्छ भने गर्नुस् भन्यौं । अनेकौं प्रयास गरेर रातरात नै फ्रेस ब्लडको व्यवस्था पनि गर्यौं । तर बहिनीलाई बचाउन सकेनौं ।’
बहिनीको मृत्युका कारण थाहा पाउन आफूहरूले अस्पताल प्रशासनसँग माग गर्दा त्यसको बदलामा प्रहरी प्रशासन लगाएर उल्टै दुःख दिएको उनले बताए ।
उनले भने, ‘अस्पतालको तल्लो तहका कर्मचारीसँग वार्ताबाट केही निष्कर्ष निस्किएन । माथिल्लो तहसँग वार्ता गर्न पाउनुपर्छ भन्ने हाम्रो माग हो । तर अस्पताल प्रशासनले ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाएर हामीमाथि नै दमन गरिरहेको छ ।’
अस्पतालका निर्देशक र सुत्केरीलाई नियमित चेकअप गर्ने चिकित्सकले घटनाबारे यथार्थ जानकारी गराउनुपर्ने माग आफूहरूको रहेको देवेन्द्रले बताए ।
अस्पताल प्रशासनले भने मृतकका आफन्तसँग यस विषयमा वार्ता भइरहेको जनाएको छ ।
