भाईटीका अघि दाईको लाश आगनमा

विपिनको शव पुगेपछि सुदूरपश्चिम शोकमा

द एभरेष्ट पोष्ट
५ कार्तिक २०८२ ६:०२
भाईटीका अघि दाईको लाश आगनमा

कञ्चनपुर, ४ कात्तिक ।

ईजरायलबाट हमासको अपरहणमा परेको ७४३ औं दिनमा कञ्चनपुरका विपिन जोशीको शव घरमा आईपुगेको छ ।

दाईको सकुशल रिहाईका लागि दवाव सृजना गर्न आमा पद्मासंगै ईजरायलपछि अमेरिका पुगेकी बहिनी पुष्पाले अमेरिका छदै विपिन जीवित नरहेको खवर सुनिन् । र, त्यही खवर सुनेर उनीहरु नेपाल फर्किए ।

भाईटीकाका लागि दाईलाई कुरिरहेकी पुष्पाले सोमवार राति आगनमा विपिनको शवदेखेपछि आफूलाई सम्हाल्न सकिनन् ।

फ्लाइ दुबईको विमानबाट अपरान्ह काठमाण्डौं आईपुगेको विपिनको शवमा प्रधानमन्त्री सुशीला कार्कीले विपिन जोशीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गरेकी थिइन्।

सोमवार साँझ काठमाण्डौंबाट सेनाको स्काई ट्रकमा धनगढी ल्याईएको विपिनको शव राति कञ्चनपुरको भीमदत्त नगरपालिका- ३ बीचपुरी मालिकार्जुन टोलस्थित घरमा पुर्याईएको थियो । विपिनको शव आगनमा नपुग्दै घरमा स्थानीयको भीड जम्मा भईसकेको थियो ।

शव आगनमा पुगेपछि बुवा महानन्द, आमा पद्मा र बहिनी पुष्पाले आफूलाई सम्हाल्न सकिनन् । परिवारमा शुरु भएको रुवावासीले स्थानीयलाई सबै भावविह्वल बनायो । एकैछिनमा गाउँमै रुवावासी चल्यो ।

तिहारमा दाईलाई टीका लगाउने पुष्पाको धोको अधुरो रह्यो । उनी भन्थिन्, तिहार अघि दाईलाई जसरी पनि घर ल्याईदिनु । म भाईटीका लगाउछु ।
भाईटीकाको दुई दिनअघि आगनमा दाईको शव आईपुग्यो । योभन्दा पीडादायी क्षण एउटा बहिनीका लागि के हुन सक्छ ? स्थानीय बासिन्दा भन्दै थिए, जसले सबैलाई बचाए । उसैको जीवन जोगिएन् ।

विपिनको शवसंगै नेपालका लागि इजरायली राजदूत स्मुलिक एरी बास र दूतावासका कर्मचारीहरु समेत घरमा पुगेका थिए ।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका ४९ जना विद्यार्थीहरू दुई वर्षअघि ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल पुगेका थिए । उनीहरू इजरायल पुगेको महिना दिन नपुग्दै हमासको आक्रमणमा परे ।

हमासको आक्रमणमा परेर १० विद्यार्थीको मृत्यु भयो । हमासले फालेको ग्रिनेड फालेर विपिनले आफ्ना अरु साथीहरुलाई जोगाए । त्यसपछि हमासले विपिनलाई अपहरण गरेर लगे । दुई वर्षअघि हमासले बन्धक बनाएका विपिनको मृत्यु भएको सोमबार पुष्टि भएको हो । इजरायल र हामासबीच युद्धविराम भएपछि सोमबार शव हस्तान्तरण गरिएको थियो ।

विपिनको शव पुगेपछि सुदूर पश्चिम शोकमा डुबेको छ । विपिनको आज(मंगलवार) महाकाली नदीमा अन्तिम संस्कार गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस