प्रचण्डले भने– कृष्णबहादुर महरामाथि षड्यन्त्रको सुरुआत गरियो

द एभरेष्ट पोष्ट
३ कार्तिक २०८२ ११:२२
प्रचण्डले भने– कृष्णबहादुर महरामाथि षड्यन्त्रको सुरुआत गरियो

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अहिलेको परिस्थिति असाधारण र जटिल रहेको उल्लेख गरेका छन् । अप्ठ्यारो परिस्थितिमा पार्टीको भूमिका बढेको उनले बताएका छन् ।

नेपाल संवत् ११४६ को उपलक्ष्यमा आइतबार (कात्तिक २) माओवादी केन्द्र ललितपुर महानगरपालिका समितिले आयोजना गरेको शुभकामना आदनप्रदान, चियापान तथा भेटघाट कार्यक्रममा उनले अहिलेको अवस्थामा पार्टीलाई ठूलो जिम्मेवारी आएको र १० बुँदे मार्गदर्शन जारी गरिएको बताए ।

“गत भदौ २३ गते जेनजीले बेथिति, भ्रष्टाचार र कुशासनको विरुद्धमा आन्दोलित भएर राजनीति र देशप्रतिको मायाका साथै सुधारका लागि शक्ति प्रदर्शन गरेको हो । तर, भदौ २४ गतेको आन्दोलनले देशमा कति खतरनाक ढंगले गलत प्रवृत्तिको विकास हुँदै छ भन्ने पनि शिक्षा दिएको छ, यो हामीले बुझ्नुपर्छ । त्यसपछि हामी सबैले मुलुकमा राज्यविहीनताको अवस्थालाई अन्त्य गर्न भूमिका निर्वाह गर्‍यौँ,” उनले भने ।

संयोजक प्रचण्डले ‘जेनजी’ आन्दोलनका माग पनि पार्टीकै अनुसारको भएकाले आफूहरूले समर्थन गरेको बताए । युवाको चाहना र भावनाअनुसार  पार्टी रूपान्तरण हुनुपर्नेमा उनले जोड दिए ।

“परिवर्तित परिस्थितिमा पनि रूपान्तरण हुने पार्टी माओवादी हो । जेनजी युवासँग पनि निरन्तर संवाद र छलफल भइरहेको छ । संविधान संशोधन गरेर, उनीहरूले बुझ्नुपर्छ, क्रान्तिकारीहरूले दुष्मन र मित्र चिन्नुपर्छ, यो कुरा नवयुवाहरूले बुझ्नुपर्छ,” उनले भने ।

उनले सुशासन, सामाजिक न्याय, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका विषयमा आमजनता र युवालाई बुझाउन आवश्यक रहेको बताए । “लेनिनले भनेको जस्तो क्रान्तिकारी पार्टीले र नेताले मात्र गल्ती स्वीकार गर्छन्, बुर्जुवा र प्रतिक्रान्तिहरूले गल्ती स्वीकार गर्दैनन् । जनताको नेतृत्व गर्ने पार्टीका रूपमा हामी फेरि रूपान्तरण हुनुपर्नेछ, भ्रष्टाचारीको संरक्षण गर्नेहरू र क्रान्तिकारीहरू एकै हैनन्,” उनले भने ।

उनले प्रतिक्रियावादी र प्रतिक्रान्तिवादीले पूर्वसभामुख कृष्णबहादुर महरालाई गलत सन्देश, बेइमानी र षड्यन्त्रको सुरुआत गरेको धारणा राखे ।

संयोजक प्रचण्डले नेतृत्वमा को हुनुपर्छ वा हुनु हुँदैन भनेर पत्रकारले भन्ने हैन भन्दै त्यसको निराकरण सम्बन्धित पार्टीका सदस्यले गर्ने विषय भएकामा ध्यानाकर्षण गराए ।

केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य एवं पूर्वमन्त्री पम्फा भुसालले जनताका अधिकतम अधिकार प्रत्याभूति गर्ने संविधान लेखिएको उल्लेख गरिन् । उनले समाजवादी ‘जनक्रान्ति’ सफल बनाउन जेनजी समूहका नवयुवा पुस्ताले गरेको मागअनुसारको सुशासन र समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै लैजानुपर्नेमा जोड दिइन् ।

उनले १० वर्षे सशस्त्र द्वन्द्वमा समेत नभएको विध्वंस जेनजी आन्दोलनका क्रममा भएको र संविधान र व्यवस्था मास्ने षड्यन्त्रविरुद्ध राष्ट्रपतिले खेलेको भूमिकाले त्यसलाई शान्त बनाएको टिप्पणी गरिन् । फागुन २१ गतेको निर्वाचनलाई सफल बनाउन आवश्यक रहेको उनले बताइन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस