तिहारमा पश्चिमी वायुको सामान्य प्रभाव रहने, सतर्क रहन सुझाव

द एभरेष्ट पोष्ट
३ कार्तिक २०८२ ११:१८
तिहारमा पश्चिमी वायुको सामान्य प्रभाव रहने, सतर्क रहन सुझाव

धनगढीः जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले यस वर्षको तिहार अवधिका लागि विशेष मौसम बुलेटिन जारी गरेको छ। जसअनुसार तिहार अवधिमा पश्चिमी वायुको सामान्य प्रभाव रहने र देशका केही पहाडी र हिमाली भू–भागमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको जनाएको छ।

शनिवार साँझ ६ बजे जारी बुलेटिनअनुसार तिहारको समयमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहने तर पश्चिमी वायुको कारणले देशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि साधारण बदली रहने र कतिपय स्थानमा फाटफुट वर्षा हुने उल्लेख छ। उच्च हिमाली क्षेत्रमा भने हल्का हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

लक्ष्मी पूजाका दिन कार्तिक ३ गते देशका अधिकांश भूभागमा मौसम सफा रहने भए पनि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

कार्तिक ४ गते अर्थात् औंसीको दिन पनि देशका पहाडी भूभागमा आंशिक बदली रहने र कोशी, गण्डकी तथा कर्णालीका पहाडी क्षेत्रमा फाटफुट वर्षा हुने सम्भावना छ। गोवर्धन पूजाको दिन कार्तिक ५ गते भने पहाडी भूभागमा आंशिकदेखि साधारण बदली रहने र कोशी तथा कर्णालीका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपात हुन सक्ने विभागको भनाइ छ।

भाइटीकाको दिन कार्तिक ६ गते कोशी र मधेश प्रदेशलगायत देशका अन्य पहाडी क्षेत्रमा आंशिकदेखि साधारण बदली रहने र सबै प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुने अनुमान गरिएको छ। उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपातको सम्भावना पनि रहेको बुलेटिनमा उल्लेख छ। विभागले सम्भावित वर्षा र मौसम परिवर्तनबारे सतर्क रहन सुझाव समेत छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस