अमेरिका पुगेका अर्थमन्त्रीले गरे सिङ्गापुरका राष्ट्रपतिसँग शिष्टाचार भेट

द एभरेष्ट पोष्ट
२ कार्तिक २०८२ १३:११
अमेरिका पुगेका अर्थमन्त्रीले गरे सिङ्गापुरका राष्ट्रपतिसँग शिष्टाचार भेट

काठमाडौं । विश्व बैंक र अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीमा रहेका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आज सिङ्गापुरका राष्ट्रपति थार्मान शनमुगारात्नमसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

उक्त भेटमा राष्ट्रपति थार्मानले देशको तीव्र आर्थिक विकासमा मानवपुँजी, पूर्वाधार, ऊर्जा, व्यापार र खुलापनमा लगानी केन्द्रित गर्न अर्थमन्त्रीलाई सुझाव दिएको अर्थमन्त्री खनालको सचिवालयले जनाएको छ । त्यस क्रममा अर्थमन्त्री खनालले नेपाल सरकारले युवाको चाहनाअनुरुप सुशासन कायम गरी आर्थिक विकासमा केन्द्रित हुने लक्ष्यका साथ काम गरिरहेको बताए।

उनले आजै अन्तरराष्ट्रिय वित्त निगमका उपाध्यक्षसहितका अधिकारीसँग पनि अन्तरक्रिया गरेका छन् । त्यस अवसरमा अर्थमन्त्री खनालले अन्तरराष्ट्रिय वित्त निगमले नेपालमा लगानी बढाउँदै लगेकोमा धन्यवाद दिए । उनले नेपालमा निजी क्षेत्रको विकास र प्रतिस्पर्धात्मक क्षमता विकासमा निगमको थप लगानी र प्राविधिक सहयोगको अपेक्षा गरे ।

अन्तरराष्ट्रिय वित्त निगमका अधिकारीहरूले नेपालमा निगमको लगानी वृद्धि गरिने जानकारी दिँदै अन्तरराष्ट्रिय पुँजीको आप्रवाह बढाउन केही कानुनी र नियामकीय प्रबन्धमा सुधारको खाँचो रहेको बताएको जनाइएको छ । प्रतिउत्तरमा मन्त्री खनालले नियामकीय प्रबन्धमा तत्काल सुधार गर्ने प्रतिबद्धता जनाउँदै कानुनी सुधारका लागि आवश्यक तयारी गरिने विश्वास दिलाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस