कैलालीमा सुरक्षा चुनौती बढ्दो, जघन्य अपराध मौलाउँदै‍

द एभरेष्ट पोष्ट
१ कार्तिक २०८२ १५:३५
कैलालीमा सुरक्षा चुनौती बढ्दो, जघन्य अपराध मौलाउँदै‍

कैलाली : मार्ने धम्की आएपछि घरबाट भागेका गोदावरी–१० खमैराका शेरबहादुर चौधरी असोज २४ मा मृत फेला परे । छिमेकी लोकेन्द्र मल्ल (लक्की) र उनका सहोदर भाइ डडेल्धुराको गन्यापधुराका विकास मल्लले असोज २३ गते राती २ बजे ढोकामा लात्ताले हान्दै उनलाई मार्ने धम्की दिएका थिए । घरमै मारिने डरले पछाडिको ढोकाबाट भागेका चौधरीको शव ओलानी र गोदावरी नदीको दोभानमा दोस्रो दिन भेटियो ।

इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी रणबहादुर चन्दका अनुसार घटना अत्तरियास्थित एक डान्स बारमा सुरु भएको थियो । त्यहाँ मृतकका भाइ रमेश चौधरी, लक्की र विकासबीच झगडा भएको थियो ।

त्यसपछि राति लक्की र विकास शेरबहादुरकै घर पुगेका थिए । ढोका फुटाउँदै भित्र पसेपछि शेरबहादुर ज्यान जोगाउन भागेको आफन्तले बताए । शव फेला परेपछि लखेटी लखेटी मारेको भन्दै इलाका प्रहरी कार्यालय मालाखेतीमा आफन्तले किटानी जाहेरी दर्ता गरेका थिए ।

मृतकका भाइ रमेश चौधरीले दाइको निर्मम हत्या गरेको भन्दै दोषीलाई हदैसम्म कारबाहीको माग गरेका छन् । ‘अब हाम्रो परिवार मात्र होइन, पूरै गाउँ असुरक्षित भयो । यस्ता अपराधीलाई प्रहरीले छोड्नु हुन्न,’ उनले भने ।

प्रहरीले हत्या आरोपी लोकेन्द्र मल्ल र विकास मल्ललाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

घाँटी रेटेर हत्यापछि टाउको लगरे प्रहरी चौकी

शेरबहादुर चौधरीको घटना सेलाउन पाएको थिएन । सोही दिन राति करिब ११ बजे अर्को बीभत्स घटना भयो । कैलालीको घोडाघोडी–८ जरैका केशरबहादुर बुढाको घाँटी रेटेर हत्या गरी उनको टाउको झोलामा बोकेर दुई युवक प्रतिखेत प्रहरी चौकी पुगे ।

त्यो दृश्य प्रहरीलाई पत्याउनै मुस्किल पर्‍यो । तर आँखैअगाडि रेटिएको टाउको थियो । हत्या स्वीकारेपछि प्रहरीले १८ वर्षीय बलबहादुर विक र १९ वर्षीय गंगा बुढा क्षेत्रीलाई तुरुन्त नियन्त्रणमा लियो । प्रहरी अनुसन्धान अनुसार मृतक बुढा उनीहरूसँगै मदिरा खाइरहेका थिए । सोही क्रममा उनीहरूबीच सामान्य विवाद भयो । पछि विवाद चर्किएपछि घटना हत्यासम्म पुगेको थियो ।

हत्यामा संलग्न विकले भारतीय नागरिकमाथि पनि चक्कु प्रहार गरेको प्रहरी अनुसन्धानपछि खुलेको छ । उनी २ वर्ष भारतीय जेल बसेर केही महिनाअघि मात्रै नेपाल आएका थिए ।

खाना खाइरहेका ऐरमाथि चक्कु प्रहार

केशरबहादुरको हत्यामा संलग्न विक र बुढा एवं शेरबहादुरको हत्या आरोपी मल्ल दाजुभाइमाथि प्रहरीले अनुसन्धान गरिरहँदा फेरि अर्को डरलाग्दो घटना बाहिरिएको छ ।

डडेल्धुराको नवदुर्गा गाउँपालिका–२ का ३२ वर्षीय गौरव ऐर अत्तरियामा चक्कु प्रहारबाट गम्भीर घाइते भए । उनीमाथि २६ गते राति गोदावरी नगरपालिका–४ मा रहेको शुभम होटलमा चक्कु प्रहार भएको थियो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार गौरव होटलमा खाना खाइरहेका बेला चार/पाँच जनाको समूह भित्र प्रवेश गरेर उनीमाथि चक्कु प्रहार गरेको हो । घाइते ऐरको औंला काटिएको छ भने टाउको र घाँटीमा पनि चोट लागेको छ । अहिले भारतको रुद्रपुरमा रहेको मेडिसिटी अस्पतालमा उनको थप उपचार भइरहेको छ कैलालीको घोडाघोडी –८ जरैका केशरबहादुर बुढाको घाँटी रेटी हत्या गरिएको ठाउँ ।

चक्कु प्रहार गर्नेहरूको पहिचान खुलेपछि प्रहरीले खोजी कार्य तीव्र पारेको थियो । यो घटनामा ‘कोब्रा सरकार’ समूहका नाममा गुण्डागर्दी गर्दै आएको समूहका १२ जना पक्राउ परेका छन् । धनगढी–२ का सन्नी भनिने २९ वर्षीय भीम नेपाली, १८ वर्षीय अनुपम सिंह, १८ वर्षीय मुस्कान सिंह, २० वर्षीय बबिन सिंह, २६ वर्षीय गोपाल भट्ट, १८ वर्षीय प्रिन्स सिंह, धनगढी उपमहानगरपलिका–३ बस्ने १८ वर्षीय विशाल बोहरा, कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ बस्ने २३ वर्षीय किरण महरा, २६ वर्षीय गोविन्द बलायर, पुनर्वास नगरपालिका–१० बस्ने ३२ वर्षीय दिनेश विक र ३२ वर्षका अनिल विक रहेका छन् ।

घटनामा संलग्न रहेको अभियोगमा यस समूहका १५ जनाविरुद्ध जाहेरी परेको थियो । चार जना भने फरार रहेका थिए । फरारमध्ये ३२ वर्षीय तेजु रोकाया पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । रोकाया तरूण दल कैलाली क्षेत्र नम्बर ५ प्रदेश (ख) का संयोजक रहेको खुलेको छ । प्रहरीका अनुसार भारततर्फ भाग्दै गरेको अवस्थामा सीमावर्ती क्षेत्रबाट उनीहरू सबै पक्राउ परेका हुन् ।

दुई–तीन दिनको बीचमा घटेका यी अप्रिय घटनापछि कैलालीका स्थानीय अहिले त्रसित देखिएका छन् । कोब्रा सरकार समूहकै युवाले गत वर्षको २२ फागुनमा नेपाल विद्युत् प्राधिकरणका कर्मचारी सुन्दरलाल चौधरीलाई पनि खुकुरी प्रहार गरेका थिए ।

१६ दिने सुत्केरीको हत्या

गत असार ६ गते गौरीगंगा नगरपालिका–७ कैलाशपुरकी १९ वर्षीया तुलसी नाथ घर अगाडिको नालामा मृत भेटिइन् । हत्या गरेको अभियोगमा उनका सहोदर देवर नवीन नाथ पक्राउ परे ।

नवीनले सुनका गहनाका लागि भाउजू सुतेको बेला सिरानीले मुख च्यापेर हत्या गरेको बयान प्रहरीलाई दिएका छन् । भाउजूको हत्यापछि कानमा लगाएका सुनका गहना निकालेर घरनजिकै ढुंगामुनि लुकाएको अवस्थामा फेला परेका थिए ।

बाहिर घाउचोट नदेखिएका कारण उनको मृत्युको कारण पत्ता लाग्न सकेको थिएन । तर कानमा लगाएका गहना फेला नपरेपछि उक्त कोणबाट अनुसन्धान गर्दा हत्या भएको तथ्य खुलेको हो । हत्या हुँदा तुलसी १६ दिनकी सुत्केरी थिइन् ।

पछिल्लो समय कैलालीमा घटिरहेका आपराधिक क्रियाकलापले समाजभित्र मौलाएको हिंसात्मक प्रवृत्तिलाई उजागर गरेको छ । यी घटनाबाट एकातिर स्थानीय त्रसित छन् भने अर्कोतिर सुरक्षा निकायमाथि पनि प्रश्न उठिरहेको छ ।

स्थानीयहरू अपराधमा संलग्नमाथि कडा सजाय नहुनाले अपराध मौलाइरहेको बताउँछन् । धनगढीकी स्थानीय रेखा चौधरी अहिले बेलुका ६ बजेपछि घरबाहिर निस्कनै डर लाग्ने बताउँछिन् । उनका अनुसार हत्याराहरू जेलबाट भागिरहेको र कतिपय २/३ वर्षमै पैसा खुवाएर छुट्ने भएका कारणले समाजमा हत्या हिंसा बढिरहेको छ ।

‘मान्छेलाई किरा फट्यांग्रा मारेजस्तै मार्दै छन् । यो सबै कडा कानुनी कारबाही नहुनाले नै हो,’ उनले भनिन् । अर्का स्थानीय खेम रैकालले समाजमा आपराधिक मनस्थिति भएका मानिस बढिरहेको बताए । यस्तो बेलामा सुरक्षा निकायले नागरिकलाई सुरक्षाको ग्यारेन्टी दिनुपर्ने उनको माग छ ।

‘खुलेर हिँड्नै डराउनु पर्ने अवस्था आयो । दिनैपिच्छे हत्या हुन थाले । सर्वसाधारणले कसरी सुरक्षित महसुस गर्ने ?,’ उनले प्रश्न गरे ।

माथि उल्लेख गरिएका प्रतिनिधि घटना जघन्य अपराधका हुन् । यीबाहेक पनि अन्य थुप्रै आपराधिक घटना कैलालीमा मौलाइरहेका छन् । जसमध्ये कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, लागू औषध, करणी, चोरी र सार्वजनिक अपराधका घटना बढी रहेको देखिन्छन् ।

प्रहरी तथ्यांक नै भन्छ- अपराध मौलाइरहेछ

जिल्ला प्रहरी कार्यालयको तथ्यांकले कैलालीमा जघन्य अपराध मौलाइरहेको देखाएको छ । प्रहरीको आर्थिक वर्ष ०८०/८१ मा कर्तव्य ज्यानका ११, ज्यान मार्ने उद्योगका २६, आत्महत्या दुरुत्साहनका २३, चोरी डकैतीका ८३, लागू औषधका ३ सय १५, संगठित अपराधका २, सार्वजनिक अपराधका ३ सय ५१, र अभद्र व्यवहारका ३२ घटना दर्ता भएका छन् ।

मानव बेचबिखन तथा ओसारपसारतर्फ ३, जबरजस्ती करणीका ८७, करणी उद्योगका १८, वैवाहिक करणीका २, बाल यौन दुरुपयोगका १०, अपहरण तथा शरीर बन्धक, ज्यान बेपत्ता पारेको, तेजाब तथा रासायनिक पदार्थको प्रयोग गरेको १/१ र साइबर अपराधका ७ घटना दर्ता भएका छन् ।

यस्तै आर्थिक वर्ष ०८१/८२ मा कर्तव्य ज्यानका १५, ज्यान मार्ने उद्योगका ३९, आत्महत्या दुरुत्साहनका १८, चोरीका ७३, लागू औषधका ४ सय ६९, संगठित अपराधका ६, सार्वजनिक अपराधका २ सय ३, जातीय छुवाछूतका ६, मानव बेचबिखन तथा ओसारपसारका ९ र जबरजस्ती करणीका ८७ घटना दर्ता भएका छन् । यस्तै करणी उद्योगका २६, वैवाहिक करणीका २, बाल यौन दुरुपयोगका ८, अपहरण तथा शरीर बन्धकका ३ र साइबर अपराधका ३ घटना दर्ता भएका छन् ।

आर्थिक वर्ष ०८२/८३ को तीन महिनामा मात्र कर्तव्य ज्यानका ८ घटना दर्ता भएका छन् । अन्य वर्षको तुलनामा यो संख्याले अपराध बढेको देखाएको छ । यस्तै ज्यान मार्ने उद्योगका ८, चोरीका ९, ठगीका ७, लागू औषधका ६४ घटना दर्ता भएका छन् । सार्वजनिक अपराधका १९, मानव बेचविखन तथा जबरजस्ती करणीका २२, करणी उद्योगका ३ र विद्युतीय कसुर तथा साइबर अपराधका एक घटना दर्ता छन् ।

कैलालीमा भइरहेका आपराधिक घटना र बढ्दो सुरक्षा चुनौतीबारे जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी नायव उपरिक्षक (एसपी) नरेन्द्रबहादुर चन्द नागरिकको सुरक्षाबारे थप योजना बनाएर काम गरिरहेको बताउँछन् । ‘चेकिङ बढाएका छौं, अधिकांश घटना चिनजानका मान्छेबाटै भएका देखिन्छन् । यसमा हामी थप सुरक्षा योजना बनाएर काम गरिरहेका छौं,’ उनले भने । आपराधिक घटना सदरमुकाम धनगढीभन्दा बाहिर बढी हुने गरेको पनि उनले सुनाए ।

एसपी चन्द भन्छन्, ‘सदरमुकामभन्दा बाहिर संगठित रूपमा अपराधका घटना भएको देखिन्छ । जसमा केही आपराधिक समूह सक्रिय छन् । अहिले भूपेन्द्र बड्वाल हत्या प्रकरणमा संलग्न टीकापुरको एक समूह र कोब्रा सरकार नामबाट आतंक फैलाइरहेको समूहलाई नियन्त्रणमा लिएका छौं । उनीहरूमाथि अनुसन्धान भइरहेको छ ।’ चन्दले प्रहरीले नागरिकलाई सुरक्षा अनुभूति गराउन प्रयासरत रहेको पनि बताए ।

सुदूरपश्चिमाञ्चल क्याम्पसमा समाजशास्त्रकी प्राध्यापक टीकेश्वरी शर्मा पछिल्लो समय समाजमा बढिरहेका आपराधिक घटनाको मूल कारण आर्थिक अभाव, बेरोजगारी, नैतिक शिक्षा अभाव र सामाजिक सञ्जाललाई ठहर्‍याउँछिन् । उनका अनुसार सेवाको असमान वितरण, असमान पहुँच, जातीय, भेगीय एवं क्षत्रीय द्वन्द्वबाट सिर्जना हुने बैमनस्यता पनि यसका कारक हुने उनको निष्कर्ष छ ।

आपराधिक घटनामा युवाहरूको संलग्नता बढी देखिने गरेको छ । यसबारे प्राध्यापक शर्मा भन्छिन्, ‘अहिलेका युवामा सहनशिलता र धैर्यता एकदमै कम छ । उनीहरू हरेक कुराको रिजल्ट छिटो चाहन्छन् । गरिबी, बेरोजगारीबाट फ्रस्टेड, सामाजिक सञ्जालमा देखिने अरूको हाइफाइ लाइफस्टाइल र आफ्ना आवश्यकता पूरा गर्न नसक्दा आपराधिक भाव उनीहरूमा पैदा हुन्छ ।’

जेनजी आन्दोलनपछि सुरक्षा निकायको कमजोर मनोवलको फाइदा उठाएर पनि अपराध बढिरहेको प्राध्यापक शर्माको टिप्पणी छ । यस्ता घटनालाई रोक्न राज्यस्तरबाटै काम गर्नुपर्ने उनको सुझाव छ ।

‘सेवाको समान वितरण, गरिबी र बेरोगारी दर घटाउने, सुरक्षा निकायलाई मजबुत बनाउने, सामाजिक सञ्जाल नियमन र नैतिक शिक्षामा जोड दिए आपराधिक घटनामा कमी आउनेछ,’ उनले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस